Breaking News

उपसभापति स्वर्णिमसहित रास्वपा नेताहरूविरुद्ध अदालतमा मुद्दा दर्ता

Banner

काठमाडौँ, कात्तिक २९-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । उपसभापति स्वर्णिम वाग्लेसहित राष्ट्रिय स्वतन्त्र पार्ट का केन्द्रीय नेताहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा उपसभापति वाग्लेसहित कार्यवाहक प्रवक्ता मनीष झा, सुमना श्रेष्ठ, विराजभक्त महर्जन, तोसिमा कार्की, सोबिता गौतमलगायत रास्वपा सांसदलाई विपक्षी बनाइएको छ।

अधिवक्ता भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी मुद्दा दर्ता गराएका हुन् । यो मुद्दामा मङ्सिर तीन गतेको लागि पेसी तोकिएको छ ।

उक्त निवेदन सुरुमा सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । कात्तिक १४ गते सर्वोच्च प्रशासनले उक्त निवेदन दरपिठ गरेको थियो । सह रजिस्ट्रार अच्युत कुइँकेलले दरपिठ गरेपछि त्यस विरुद्ध भट्टराईले कात्तिक २१ गते इजलासमा निवेदन दिएका थिए । उक्त निवेदनमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश शर्माको इजलासले दरपिठ बदर गरेसँगै मुद्दा दर्ता भएको हो ।

अवहेलना निवेदनमा विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीसमेतले न्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउने लगायतका कार्य गरी स्वतन्त्र न्यायपालिका माथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गरिएको छ।

पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने हाल रुपन्देहीमा छन्। त्यहाँको बुटवलस्थित सुप्रिम सहकारी ठगी अनुसन्धानका लागि गत मंगलबार उनलाई पोखराबाट रुपन्देहीको भैरहवा पुर्‍याइएको हो। त्यहाँ जिल्ला सरकारी वकिलको कार्यालयमा आज तेस्रो दिन पनि उनीसँग बयान लिने क्रम जारी छ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण अनुसन्धानका क्रममा कास्की जिल्ला प्रहरीको हिरासतमै रहेका बेला उनलाई भैरहवा लगिएको हो। कास्कीमा भने उनको बयान लिइसकिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>