घटना -दुर्घटना
हेटौंडामा हावा भर्ने क्रममा टायर पड्किँदा १ जनाको मृत्यु, ५ घाइते
काठमाडौं, कात्तिक २७-
मकवानपुरमा ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङमा ट्यांकरको टायर पड्किएर भारत घर भएका ३४ वर्षीय मोहम्मद ऐजाजको मृत्य भएको हो । उनी हेटौंडा टायर मर्मत पसल सञ्चालक हुन् ।
गएराति करिब एक बजे मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको पेट्रोल बोकेको ट्यांकरको टायरमा हावा भर्ने क्रममा पड्किएको थियो । टाउकोमा चोट लागेर गम्भिर घाइते भएका मोहम्मद ऐजाजको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
सो घटनामा परी टायर मर्मत पसलमा काम गर्ने पर्साको धोबिनी गाउँपालिकाका १८ वर्षीय जाबिर हवारी, हेटौंडा–११ का ३९ वर्षीय देवान लामा, हेटौंडा–११ कै ४७ वर्षीय मोहनलाल दुलाल, धादिङको धुनिबेशी नगरपालिका–२ का २३ वर्षीय उत्तम बस्नेत र धादिङको थाक्रे गाउँपालिका–८ का लक्ष्मण थापा घाइते भएका छन् ।
लामाको चुरे हिल अस्पतालमा उपचार भइरहेको छ भने अन्य चार जना उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
फाइल तस्बिर