चितवन विशेष
महेन्द्र चोकको इतिहास मेटाउने कोसिस, झनै व्यवस्थित हुनेछ : विक्रम पाण्डे
चितवन, कात्तिक २६-
चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद विक्रम पाण्डेले भरतपुर महानगरपालिका–१५ मा रहेको महेन्द्र चोकको इतिहास मेटाउने कोसिस भएको बताएका छन् ।
पूर्वमन्त्री समेत रहेका पाण्डेले विज्ञप्ति जारी गरी महेन्द्र चोकमा गरिएको तोडफोडले आमनेपाली र चितवनबासीको आत्म सम्मानमा चोट पुगेको बताए ।
महानगरको निर्देशनमा महानगर प्रहरी र नेपाल प्रहरीले गएको कात्तिक २३ गते साँझ राजा महेन्द्रको शालिक राख्न बनाइएको संरचना हटाएको थियो । ‘यसको जवाफ उचित समयमा जनताले दिनेछन् । महेन्द्र चोक अब झन् व्यवस्थित हुनेछ’, पाण्डेले विज्ञप्तिमा भनेका छन्, ‘इतिहास र परम्पराको अपमान गरेर कुनै व्यक्ति, समाज वा राष्ट्रले प्रगति गर्न सक्दैन । अब सारा नेपाल र नेपाली जनताले नयाँ विकल्प खोज्ने छ ।’
चितवनमा बसोबास खुलाउने राजा महेन्द्रको नाममा राखिएको महेन्द्र चोकमा गरिएको तोडफोडलाई जनताले गम्भिर रुपले लिएको पनि उनले बताए ।