Breaking News
सर्ट मिटिङको टाइम मिलाइदिनु भन्दै डिपीले आरजुका पिएलाई पठाए म्यासेज
काठमाडौँ, कात्तिक १४-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल (डिपी)ले परराष्ट्र मन्त्री डा.आरजु राणालाई म्यासेज गरेका छन् । उपसभापति अर्यालले परराष्ट्र मन्त्री डा. राणा देउवासँग भेटका लागि आग्रह गर्दै म्यासेज गरेका हुने ।
अर्यालले मन्त्री राणाका स्वकीय सचिव कमल रावललाई मोबाइलमा म्यासेज गरेर भेटका समय मिलाइदिन अनुरोध गरेको तस्बिर बाहिरिएको छ । तस्बिरमा रास्वपा उपसभापति अर्यालकै मोबाइलको स्क्रिन देखिएको छ । जसमा अर्यालले मन्त्री राणाका स्वकीय सचिवलाई म्यासेज लेखिरहेका देखिन्छन् । अर्यालको मुहार भने देखिदैन् । स्क्रिनको म्यासेज बक्समा अङ्ग्रेजी अक्षरमा ‘कमल जी म डिपी अर्याल । एक पटक मन्त्रीज्यूसँग सर्ट मिटिङको टाइम मिलाउनु न’ लेखेर पठाइसकेको देखिन्छ ।
यस्तै सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका पार्टी सभापति रवि लामिछानेलाई हिरासतमुक्त गराउन उपसभापति अर्याल यति बेला सरकारसँग लबिङमा छन् । यसअघि सोमबार उनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई भेटेका थिए ।
यसैबीचमा अर्यालले मंगलबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी परराष्ट्र मन्त्री राणालाई भेट्न चाहेको खुलेको हो ।
उक्त म्यासेज उपसभापति अर्यालकै हो वा होइन भनेर पुष्टि गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन् । तर, मन्त्री राणाको सचिवालयले भने रास्वपा उपसभापति अर्यालबाट मन्त्री राणासँग भेटको समयका लागि अनुरोध आएको पुष्टि गरेको छ ।