चितवन विशेष

चितवनमा प्रचण्ड, विप्लव र वैद्यको उपस्थितिमा जनसांस्कृतिक कार्यक्रम हुने

Banner

चितवन,असोज २९-

तीन/चार चिरामा विभाजित माओबादीका तीन शीर्ष नेतृत्वले कार्तिकको पहिलो साता एउटै मञ्च शेयर गर्ने भएका छन् । जनयुद्धको समयमा साथमा साथ, हातमा हात मिलाउदै अगाडि बढेर बिभिन्न समयमा पार्टी बिभाजन भई अलग अलग समूहको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल (प्रचण्ड), नेत्रविक्रम चन्द(विप्लव) र मोहन वैद्य (किरण) कार्तिक ३ गते चितवनको भरतपुर १३ मा आयोजना हुने बिशाल जनसांस्कृतिक कार्यक्रममा एउटै मञ्चमा देखिने भएका हुन् ।

वेपत्ता योद्धा दण्डपाणी न्यौपाने र अन्य शहीदहरुको सम्मानका लागि नेकपा माओवादी केन्द्र वडा नं १३ भरतपुरले बिशाल जनसांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । आज मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य (किरण), नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) आउने निश्चित भईसकेको र पूर्व प्रधानमन्त्री समेत रहनुभएका डा बाबुराम भट्टराई पनि आउने संभावना रहेको कार्यक्रमका संयोजक प्रकाश दवाडीले जानकारी दिनुभयो । माओवादीको राजनीतिक भविष्यका बारेमा व्यापक चर्चा भईरहेको समयमा फुटेर चिराचिरामा विभाजित शीर्ष नेतृत्वको यो जमघटले सिंगो राजनीतिक वृत्तमा तरंग पैदा गर्ने देखिन्छ ।
भरतपुर वडा नं १३ को हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयको खुल्ला प्राङ्गणमा कार्तिक ३ गते बिहान ११ बजे शुरु गरिने जनसांस्कृतिक कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासंघ र सामना परिवारको विशेष प्रस्तुति रहने प्रचार प्रसार समितिका संयोजक सुदिप सुवेदीले जानकारी दिनुभयो ।

साथै राष्ट्रिय स्तरका कलाकारहरु रचना रिमाल, कुलेन्द्र विश्वकर्मा ,विष्णु खत्री, हास्यकलाकार सुवोध गौतम लगायतको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्न १ हजार १ सदस्यीय मूल आयोजक समिति, २२ वटा उपसमितिहरु र ३ सय १ सदस्यीय सचिवालय गठन गरिएको छ । जनसांस्कृतिक कार्यक्रमबाट नगद ५० लाख रुपैयॉ संकलन गर्ने लक्ष आयोजकले राखेको छ । संकलित रकम र अन्य सहयोग जुटाएर वडा नं १३ मा वेपत्ता योद्धा दण्डपाणी न्यौपाने भवन निमार्ण सम्पन्न गरिने कार्यक्रम संयोजक दवाडीले बताउनुभयो । भवन निमार्णका लागि न्यौपाने परिवारले २ कठ्ठा जग्गा उपलव्ध गराउनेछ । सो भवनमा अन्य वेपत्ता योद्धा तथा शहीदहरुको विवरण समेत उल्लेख गरिने माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् न्यौपाने पुत्री निशा न्यौपानेले बताउनुभयो । २००२ सालमा तनहु‘को देवघाटमा जन्मनुभएका वेपत्ता योद्धा न्यौपाने नेकपा माओवादीको संस्थापक केन्द्रिय सदस्य हुनुहुन्थ्यो । संस्कृतमा शास्त्री गर्नुभएका न्यौपानेलाई २०५६ जेठ ७ गते काठमाण्डौंको सुन्धारास्थित कोठाबाट राज्य पक्षले पक्राउ गरी वेपत्ता बनाएको उहॉका छोरा गोपाल न्यौपानेले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>