Breaking News
वर्षका कारण भरतपुर विमानस्थलका उडान प्रभावित

चितवन, असोज ११-
प्रतिकूल मौसमका कारण भरतपुर विमानस्थलका उडान प्रभावित भएका छन् ।
शुक्रबार बिहानदेखि परेको अविरल वर्षाका कारण कम भिजिविलिटी हुँदा भरतपुर विमानस्थलका उडान प्रभावित भएको हो ।
विमानस्थलका अनुसार उडान प्रभावित भएसँगै हवाइ यात्रुहरु समस्यामा परेका छन् । वर्षाका कारण भरतपुरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा गरी दैनिक १० वटा उडान हुँदै आएका छन् ।
देशभर मनसुनी वायुका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण चितवन लगायत देशभरका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
























