Breaking News

भरतपुर महानगरलाई प्रश्न-दियालो फुडल्याण्डको नक्सापास संरचनामा डोजर चलाइएको हो ?

Banner

चितवन, असोज १०-

भरतपुर महानगरपालिकाले पुंगी खोला अतिक्रमण गरी बनाएको भनि बुधवार दियालो फुडल्याण्डको संरचनामा डोजर चलायो । चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद विक्रम पाण्डेले भाडामा सञ्चालन गर्न दिएको होटल दियालो फुडल्याण्डको अगाडि र पछाडिका संरचनाहरु खोलामा परेको भन्दै भत्काइयो । दियालो फुडल्याण्ड भएको ठाउँमा यसअघि सांसद पाण्डेको कालिका कन्स्ट्रक्सनको अफिस थियो ।

भरतपुर महानगरले दियालो फुडल्याण्डको नक्सापास संरचनामा डोजर चलाएको भन्दै सांसद पाण्डेले आपत्ती जनाउनुभएको छ । मालपोत कार्यालयबाट जग्गापास भएको जग्गामा महानगरपालिकाबाटै नक्सापास गरी संरचना निर्माण गरिएको उहाँले बताउनुभयो । यस ठाउँमा आफुले नीजि लगानीमा झण्डै एक किलोमिटर सडक, सोलार लाइट र पर्खालहरु निर्माण गरिदिएको भन्दै उहाँले नक्सापास संरचनामा महानगरले डोजर चलाएको बताउनुभयो ।
कालिका कन्स्ट्रक्सनका कर्मचारी गणेश बरालका अनुसार १० कठ्ठा जग्गामा दियालो फुडल्याण्ड होटल रहेको छ । खोला अतिक्रमित संरचना महानगरले भत्काउने भएपछि उच्च अदालत पाटन, हेटौंडा इजलासमा मुद्धा पनि परेको थियो । असोज ७ गते परेको पेशी महानगरले स्थगित गर्न लगाएर असोज ९ गते (बुधवार) डोजर चलाएको बरालले बताउनुभयो ।

‘दियालो फुडल्याण्डको २०५६ साल असार २३ गते भरतपुर महानगरपालिकाले नक्सापास गरेर निर्माण गरेको संरचना हो । मालपोतबाट जग्गा पास गरेर लिएको जग्गा हो । हालसम्म पनि सो जग्गाको सम्पत्ति कर तिरिराखेको छ’, उहाँले भन्नुभयो, ‘कतिपय जग्गा खोलाभन्दा बाहिर पनि छ । त्यो जग्गा हामीले प्राप्त गर्नुप¥यो । जग्गा खोलामा र खोला पारी पनि पर्छ । अब त्यो जग्गा हामीलाई महानगरपालिकाले उपलब्ध गराछ कि गराउँदैन ?’

भरतपुर महानगरपालिकाको नक्सापास शाखा प्रमुख सूर्य प्रकाश लामाले भने खोला अतिक्रमण गरी बनाइएको नक्सापास नभएका संरचना मात्रै भत्काएको दाबी गर्नुभयो । ‘सानो संरचनाको मात्रै नक्सापास गरिएको छ । त्यो भन्दा बढी संरचना खोला चेपेर बनाइएको छ’, उहाँले भन्नुभयो, ‘आफ्नो जग्गामा पर्ने संरचनाको मात्र नक्सापास गरिएको छ ।’

खोलामा परेको संरचना भत्काउन दिएको समयमा पनि नभत्काएर जग्गावाला पक्ष अदालत गएको उहाँले बताउनुभयो । अदालतले स्टे अर्डरको आदेश नदिएपछि हामीले खोलामा परेको संरचना भत्काएको हो । नक्सा पास भएको र नभएको संरचना जोडेर बनाएकाले नक्सा पास नभएको संरचना भत्काउँदा अर्काेमा सामान्य क्षति भएको हुनसक्छ ।’ दियालो फुडल्याण्डको मुख्य संरचना भने खोलामा पर्दैन । मुख्य संरचनाभन्दा पछाडि ठूला कार्यक्रम आयोजना गर्न मिल्ने गरी हल बनाइएको छ ।

महानगरपालिकाले बुधबार नारायणगढको लायन्स भवनसहित केही संरचना अतिक्रमित भन्दै भत्काएको छ । यहाँको वडा कार्यालय पनि खोला अतिक्रमण गरेर निर्माण गरिएको छ । वडा कार्यालय भने महानगरपालिकाले भत्काएको छैन । भरतपुर महानगरपालिका–११ भोजाड गणेशथानबाट सुरु भएको पुङ्गीखोला वडा नम्बर ३ र ४ को सिमाना हुँदै नारायणी नदीमा गएर मिसिन्छ । महानगरपालिका नापी अधिकृत विकास देवकोटाका अनुसार साढे ६ किलोमिटर पुङ्गी खोलाको नक्सा अनुसार नाँपजाच पूरा भएको छ । खोला कही तीन चार मिटर र कहीँ १०/१२ मिटर चौडा रहेको उहाँले बताउनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>