Breaking News

मनहरीमा आमाघर सेवा आश्रमः ‘साहाराविहिनहरुका लागि साहारा’

Banner

मनहरी, भदौ २९–

सन्तान भएर वा नभएर घरबार बिहिन हुन पुगेका आमाहरुलाई अब आश्रयको लागि भौतारिनु पर्ने छैन । मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित ब्रह्मा कुमारी राजयोग उपसेवा केन्द्रले यस्तै साहाराबिहिन आमाहरुका लागि ‘आमाघर सेवा आश्रम’ संचालनमा ल्याएको छ । आध्यात्मिक जीवन जीउन चाहने आमाहरुका लागि यो आश्रम उपयुक्त हुनेछ ।

‘आमाघर सेवा आश्रम’ले हाल आफ्नै भवन निर्माण गरी २५ वटा कोठा, ३ सय जना अट्ने सुविधासम्पन्न हल, ध्यान कक्ष, पुस्तकालय, म्युजियम, बैठक हल, शान्तिधाम, तपस्याधाम, बाबाको रुम आदिको सेवा संचालनमा ल्याएको छ । यी संरचना निर्माण गर्दा करिव ८ करोड रुपैयाँ खर्च भएको आश्रम व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए । ‘यहाँका इन्जिनियरिङ टिमले सहयोग नगरेपछि हामी भारतबाट यसको डिजाइन गरेका हौं, इच्छाशक्ति भएपछि ८ करोड भए पनि काम सम्पन्न गरेका छौं’ अध्यक्ष उप्रेतीले भने ‘अब घरबारबिहीन भएका आमाहरुलाई यहाँ सजह ढंगले राख्ने छौं ।’

भवन निर्माण सम्पन्न भएपछि यस आश्रममा आवासीय रुपमा आमाहरुलाई सेवा प्रदान गर्ने कार्यको थालनी भइसकेको छ । अहिले १४ जना भन्दा बढीले आवासीय रुपमा सेवा लिइरहेको आश्रमका उपाध्यक्ष विजयराज सिग्देलले जानकारी दिए । उनीहरु सबै निःशुल्क बसीरहेका छन् । शुल्क तिरेर बस्न चाहनेलाई पनि आश्रमले आश्रय दिने उनले बताए । ‘हामी शुल्क लिदैनौं भन्दैनौं, दिन सक्नेको लिन्छौं, नसक्नेलाई पनि हामी राख्छौं, आमाहरुको सेवा गर्न नै हामी आश्रम संचालनमा ल्याएका हौं’–सिग्देलले भने ।
२५ वटा कोठा रहेको भवनमा एउटा कोठामा ३ वटा बेड राखिएको छ । भवन निर्माणका लागि स्वेच्छिक चन्दा संकलन गरिएको थियो भने बागमती प्रदेश सरकारले समेत सहयोग गरेको थियो । आश्रम संचालनका ४ सय भन्दा बढीको आजीवन सदस्य बनाईएको छ ।

ब्रह्मा कुमारी राजयोग उपसेवा केन्द्रले ३ कठ्ठा क्षेत्रमा उक्त भवन निर्माण गरेको हो । भवनसंगैको एक कठ्ठा जमिन समेत केन्द्रले खरिद गरेको छ । केन्द्रले सिमपानी देवकोटा सामुदायिक वनसंगको सहकार्यमा १२ बिघा क्षेत्रफलमा पार्क समेत निर्माण गरेको छ । जसलाई ‘पिसपार्क’ नामाकरण गरिएको छ । त्यहाँ एउटा पोखरी निर्माण गरिएको छ । छिट्टै ढुंगा चलाउने तयारी समेत छ । यस पार्कको सम्पूर्ण निर्माणको काम अन्तिम चरणमा छ ।

आमाघर सेवा आश्रम कसरी संचालन हुन्छ ?

यो एउटा परोपकारी संस्था भएकाले यसका क्रियाकलापहरु मूलतः व्यक्ति वा समूहबाट हुने दानबाट नै संचालन हुन्छ । देशविदेशबाट रहनुभएका परोपकारी, सहयोगी मतहरुबाट बिनासर्त प्राप्त हुने नगद वा जिन्सी स्वीकार गर्ने संस्थानको नीति रहेको छ ।

ब्रह्माकुमारीज अभियानमा सदिच्छा राख्नुहुने शुभचिन्तकहरुको स्वइच्छाको सेवा र योगदानबाट यो क्रियाकलाप संचालन हुने केन्द्रले जनाएको छ । तिनै तहका सरकारहरुबाट प्राप्त हुने अनुदान रकम र अन्य सहयोग पनि स्वीकार गरेर आश्रम संचालन गरिनेछ । पितृहरुको पुण्यतिथि, संस्थाको वार्षिकोत्सव, पदोन्नती, पर्व, जन्मदिन वा मातृत्वप्रेमले गराउने भोजनसेवा, खाजा सेवाका लागि सप्रेम प्राप्त हुने नगद वा जिन्सी सहयोगबाट पनि यो आश्रम संचालन हुनेछ ।

यो अभियानमा कसरी सहयोगी बन्न सकिन्छ ?

यो अभियान सफल बनाउन भोजनसेवा, नगद र जिन्सी सहयोग उपलब्ध गराउन सकिन्छ । ‘एक आमा, एक अभिभावक’ अभियानअन्तरगत एक आमाको मासिक रुप्मा लाग्ने सेवा खर्च योगदान गरी सम्मानित अभिभावक बन्न सकिन्छ ।

मासिक भान्छा सहयोगी सदस्यता ग्रहण गरी आफ्नो इच्छा कटौती गरी मासिक रुपमा आफ्नो इच्छाअनुसारको नगद वा जिन्सी सामग्री सहयोग गर्न सकिन्छ । आश्रमको परिषरमा जोडिएको भूमि १ कठ्ठा संस्थाको नाममा थप गरिएकाले भूमिदान सदस्यका लागि १५ वर्गफिट जमीन बापत रु.१५,५०० उपलब्ध गराउन सकिनेछ । यस्तै माता–पिताको स्मृतिमा अक्षयकोष श्रीवृद्धिका लागि स्वइच्छाले रकम जम्मा गर्न सकिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>