Breaking News
चितवनको राप्ती नदीमा माछा मार्न गएका दुई जना बेपत्ता

चितवन, भदौ २२-
चितवनको राप्ती नदीमा माछा मार्न गएका दुई व्यक्ति नदीमा डुबेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२५ चितई बस्ने वर्ष ४३ को संजीव कुमार चौधरी र भरतपुर–२७ पर्साढाप बस्ने वर्ष ४५ को शुक बहादुर परियार बेपत्ता भएका हुन् ।
हिजो (शुक्रवार) दिउँसो २ बजेको समयमा भरतपुर–२५ चितई बस्ने वर्ष ३१ को रोहितकुमार चौधरीसमेत गरी तीन जना माछा मार्न गएका थिए । नदी तर्न नसकेपछि फर्किएका रोहितले आफुसँगै गएका अन्य दुई जनालाई जमुनाघाटबाट नदीले बगाएको भनि प्रहरीलाई खबर गरेका हुन् ।
हराएकाहरुको हिजो रातिबाटै खोजी सुरु गरिएको छ। निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका नेपाली सेना, स्थानीयबासीको टोलीले आज पनि विहानैबाट हात्ती र मोटरबोटबाट खोजी सुरु गरेका छन्। सेनाले रोहितको सूचनाको आधारमा अन्य दुई जनाको खोजी भइरहेको बताएको छ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले दुई जना व्यक्ति राप्तीमा जाँदा बेपत्ता भएको भन्ने सूचनाको आधारमा खोजी भइरहेको बताए। चितवन राष्ट्रिय निकुञ्जमा पर्ने राप्ती नदीमा लाइसेन्स प्राप्त व्यक्तिले मात्रै माछा मार्न पाउँछ। निकुञ्जभित्र अनाधिकृतरुपमा प्रवेश गर्न पनि पाइँदैन। तर निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपासका बासिन्दाहरुले प्रशासन तथा सुरक्षार्थ खटिएका नेपाली सेनाको आँखा छल्दै माछा मार्ने, निउरो, घाँस, दाउराका लागि निकुञ्जभित्र प्रवेश गर्ने गर्छन्।
























