Breaking News

भरतपुर अस्पतालको सामाजिक सेवा एकाइ देशकै उत्कृष्ट

Banner

भरतपुर, भदौ २१-

चितवनस्थित भरतपुर अस्पतालमा रहेको सामाजिक सेवा एकाइबाट प्रत्येक वर्ष ११ हजार बढीले निःशुल्क सेवा लिने गरेका छन् । पछिल्लो तीन वर्षमा यसरी सेवा लिने गरिब तथा विपन्न नागरिकको सङ्ख्या ३२ हजार दुई सय ८९ पुगेको छ ।

अस्पतालको सामाजिक सेवा एकाइका प्रमुख रामहरी ढकालले आर्थिक वर्ष २०८०/८१ मा एकाइमार्फत ११ हजार चार सय १३ जनाले रु चार करोड ७४ लाख ९० हजार पाँच सय ६४ बराबरको सेवा लिएको जानकारी दिनुभयो । यहाँ २०७० सालदेखि सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालन भएको थियो । त्यसयता उपचार गर्न आउने बिरामीले पूर्ण तथा आंशिक छुट पाउँदै आएका छन् । “यहाँबाट गरिब, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, विपन्न, सीमान्तकृत लोपोन्मुख आदिवासी जनजातिलगायत बिरामीलाई पूर्ण र आंशिक छुट दिने गरिन्छ”, एकाइ प्रमख ढकालले भन्नुभयो, “भरतपुर अस्पतालमा आएका बिरामी आर्थिक अभावका कारण उपचार नगरी फकर्नु पर्दैन ।”

गत आर्थिक वर्ष एउटै बिरामीले रु आठ लाखसम्मको सेवा सुविधा पाएको उहाँले बताउनुभयो । “सेवा सुविधा पाउनेमा कर्णाली प्रदेशका हुम्ला, मुगुलगायत जिल्लासम्मका नागरिक छन् । औसतमा एकजना बिरामीले रु चार हजार एक सय ६१ छुट पाएका छन्”, उहाँले बताउनुभयो, “भरतपुर अस्पताल केन्द्रीय अस्पताल पनि हो । बिरामीलाई सम्बन्धित निकायको सिफारिसका आधारमा अस्पतालबाट हुने छुट प्रदान गरिरहेका छौँँ ।”

भरतपुर अस्पतालले बाढीपहिरो, आगलागी र दुर्घटनाका बिरामीलाई २४ घण्टासम्म निःशुल्क उपचार गर्ने गरेको छ । यस अवधिमा शल्यक्रिया गर्नुपरे पनि पूर्ण रूपमा छुट दिने गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष दुई हजार १३ जनाले निःशुल्क आकस्मिक सेवा लिएका थिए, जसमा रु ८१ लाख ४२ हजार एक सय आठ खर्च भएको थियो ।

सरकारले यस असस्पताललाई विपन्न नागरिकको उपचारका लागि वार्षिक रु एक करोड ५० लाख दिने गरेको छ । सो रकमले नपुगेर बाँकी रकम अस्पताल विकास समितिले व्यहोर्ने गरेको सूचना अधिकारी पौडेलले बताउनुभयो । पछिल्लो तीन वर्षमा विपन्न नागरिकको उपचारका लागि अस्पताल विकास समितिले रु सात करोड २६ लाख खर्च गरिसकेको उहाँले जानकारी दिनुभयो ।

यसरी सेवा प्रवाह गरेको भरतपुर अस्पताल नेपाल सरकारको सङ्घीय अस्पतालमध्ये प्रथमसमेत भएको छ । न्यूनतम सेवा मापदण्डमा शतप्रतिशत अङ्क प्राप्त गरेको भन्दै स्वास्थ्य मन्त्रालयले यस अस्पताललाई सम्मान गरेको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>