चितवन विशेष

नेपाल दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कको उद्घाटन

Banner

चितवन, भदौ ११-

चीन–दक्षिण एसियाली राष्ट्रहरूको गरिबी निवारण तथा साझेदारी विकास केन्द्रको नेपाल दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कको आज उद्घाटन गरिएको छ । चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयमा पार्कको उद्घाटन गरिएको हो ।  उद्घाटन समारोहमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यसले नेपालको जनसङ्ख्याको ठूलो हिस्सालाई समेटेको बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तन, खाद्य सुरक्षा र दिगो कृषि विकासका चुनौतीहरू यस परियोजनामार्फत समाधान हुनेमा हामीले विश्वास लिएका छौँ ।”

चितवन कृषि तथा वनविज्ञान विश्वविद्यालयका कृषिविज्ञसँग मिलेर नेपालमा धान उत्पादन र उपज बढाउने उद्देश्यले वैज्ञानिक अनुसन्धान र प्रयोग गर्न सहयोग गरेकामा उहाँले धन्यवाद व्यक्त गर्नुभयो । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चीन–दक्षिण एसियाली देश गरिबी निवारण तथा सहकारी विकास केन्द्रअन्तर्गत नेपाल दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कको उद्घाटन गरिएको बताउनुभयो । उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय कंग्रेसको प्रतिवेदनमा उल्लिखित निर्देशन कार्यान्वयन गर्ने ठोस कार्य भएको प्रष्ट्याउनुभयो ।

सन् २०१९ मा राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा चीन र नेपालका नेताहरूबीच भएको सहमतिसँग पनि यो परियोजनाले मेल खाएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “दुई देशबीच र स्थानीयस्तरमा व्यापार, जीविकोपार्जन सुधार, युवा आदानप्रदान र अन्य क्षेत्रमा आदानप्रदान र सहयोग प्रवर्द्धन गर्न र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन यो परियोजना सफल हुनेछ ।”

राजदूत चेनले आगामी पाँच वर्षमा नेपाल र चीन दुवैको संयुक्त प्रयासबाट नेपालको धान उत्पादन प्रविधिमा उल्लेख्य वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले चीन–नेपाल मित्रता थप प्रगाढ हुने र ती प्रयासबाट नेपाली जनता लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शारदा थपलिया, चोङकिङ कृषि समितिको तर्फबाट चोङकिङ कृषि तथा ग्रामीण समितिका उपनिर्देशक वाङ सिजी, चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टको नेपाल कार्यालयका निर्देशक जोउ झिकियाङलगायतले परियोजनाको महत्त्व जानकारी गराउनुभएको थियो ।

परियोजनाले नेपालमा हाइब्रिड धानको उत्पादन बढाउने र धानखेती, पशुपालन, माछापालन र हरितगृहमा सहकार्यलाई सुदृढ गर्ने लक्ष्य राखेको छ । चीनमा उत्पादित वर्णशङ्कर ९हाइब्रिड० धानका जातहरूलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक एवं चिनियाँ विश्वविद्यालयका प्राध्यापकहरूको सहकार्यमा यहाँ अनुसन्धान गर्ने लक्ष्य लिइएको छ । धानका जातहरूको परीक्षण गरी धानको उत्पादकत्व बढाउन र समग्र कृषिको आयात प्रतिस्थापन गर्न परियोजना सफल हुने लक्ष्य लिइएको सो अवसरमा जानकारी गराइएको थियो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>