चितवन विशेष
चितवनका नदी, खोलामा देखिन थाले दुर्लभ जलचर ‘डल्फिन’

चितवन, भदौ ९–
पछिल्लो समय दुर्लभ हुँदै गएको जलचर ‘डल्फिन’ चितवनका विभिन्न नदी तथा खेलामा देखिन थालेको छ । यसअघि नारायणी नदीमा मात्रै देखिदै आएको ‘डल्फिन’ अहिले बुढीराप्ती खोलामा समेत देखिएको छ ।
नेचरगाइड रवि श्रेष्ठले आज (आइतबार) बुढीराप्ती खोलामा उक्त डल्फिन देखेका हुन् । रत्ननगर सौराहा आडको बाघमारा र चित्रसेन मध्यवर्ती सामुदायिक वनको बीचबाट बग्ने बुढी राप्तीको डुंगाघाटमा उक्त डल्फिन देखा परेको श्रेष्ठले जानकारी दिए । श्रेष्ठले डल्फिनको फोटो र भिडिओ खिच्न सफल भए ।
बिहीबार दिउँसोको समयमा पनि राप्ती नदीमा पनि डल्फिन देखिएको थियो । बुढी राप्ती खोला राप्ती नदी मै गएर मिसिन्छ । बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तमाङले राप्ती मै देखिएको डल्फिन बुढी राप्तीमा आएको हुन सक्ने बताउँछन् । बुढीराप्ती खोरसोरभन्दा केही तल पुगेर राप्तीमा मिसिन्छ ।
नारायणीमा खास गरेर मेघौलीभन्दा तल नवलपुरको अमलटारी आसपासमा केही वर्षयता यता फाट्टफुट्ट डल्फिन देखिन्थ्यो । योपटक गत चैत्रमा नारायणी नदीको माथिल्लो क्षेत्र नारायणगढ बजार आडमा नै डल्फिन देखिएको थियो । राप्तीमा २०३२/३३ साल तिर कसरा नजिक एकपटक डल्फिन देखिएको र त्यसयता कहिल्यै नदेखिएको चितवन निकुञ्ज स्थनपनाकाल २०३० देखि नै कार्यरत अवकाश प्राप्त पूर्व संरक्षण अधिकृत रामप्रित यादव बताउँछन् ।
























