चितवन विशेष
भरतपुरका होटल व्यवसायीको मागः२४ घण्टा होटल खोल्ने व्यवस्था होस्

चितवन, भदौ ८-
भरतपुरका होटल व्यवसायीले २४ घण्टा नै होटल सञ्चालनका लागि पहल गरिदिन अनुरोध गरेका छन् । होटल व्यवसायी संघ चितवनको २८ औ साधारण सभामा उनीहरुले यस्तो माग गरेका हुन् । होटल व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष इमान्दु बरालले बजारका होटलहरु २४ घण्टा खुला चल्ने व्यवस्था गरिदिन महानगर प्रमुख रेनु दाहाललाई अनुरोध गर्नुभयो । व्यवसायीलाई एकद्वार प्रणालीबाट कर तिर्ने वातावरण बनाइदिन उहाँले आग्रह पनि गर्नुभएको थियो ।
होटल व्यवसाय संघका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुकेले पर्यटन ऐन संशोधन नहुँदा नेपालका १० औं हजार होटेल ब्यवसायी मर्कामा परेको उल्लेख गर्नुभयो । उहाँले चितवनका २०० बढी होटल पर्यटनमा दर्ता हुने क्रममा रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ का लागि लिएको संकल्प पुरा भएको बताउनुभएको छ । प्रमुख दाहाले भ्रमण वर्षको अवसरमा पर्यटन प्रवर्धन हुने महत्वपूर्ण काम गरेको उल्लेख गर्नुभयो । भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रमार्फत पाटे बाघ हेर्ने सुविधा, भारतीय पर्यटकलाई सहज आवागमनका लागि ठोरी भन्सार सञ्चालन, दियालो बंगला दरबार सर्वसाधरणका लागि खुला गरिएको प्रमुख दाहालले बताउनुभयो । भ्रमण वर्षमा थप पर्यटक भित्र्याउन कात्तिक महिनामा एक हप्ते धार्मिक महोत्सव गर्न लागिएको उहाँले उल्लेख गर्नुभयो । यसको संयोजन देवघाट क्षेत्र विकास समिति र संरक्षकमा भरतपुर महानगर रहने उहाँको भनाई छ ।
यस्तै भ्रमण वर्षको समापनमा खाना महोत्सव गर्ने क्यालेण्डर तय भएको प्रमुख दाहालले बताउनुभयो । यस्ता गतिविधिले प्रत्यक्ष रुपमा यहाँका होटल व्यवसायीलाई टेवा पुग्ने उहाँले बताउनुभयो । बजार क्षेत्रको पार्किङको समस्या समधान गर्न यहाँका स्थानीय र महानगरको समवन्यमा स्थानको खोजी गर्नुपर्ने उहाँले बताउनुभयो ।
यसअघि महानगरले पार्किङ स्थलको व्यवस्थापन गरेको भएपनि सञ्चालनमा कठिनाई आएको स्मरण गर्नुभयो । कार्यक्रममा भरतपुर वडा नम्बर १ का अध्यक्ष केशव महर्जन, उवा संघ चितवन कार्यवहाक अध्यक्ष चिरञ्जीवी सुवेदी, घरबहाल उपभोक्ता मन्च चितवन अध्यक्ष जनकलाल कट्टेलले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष लोकनाथ भट्टको अध्यक्षतामा सम्पन्न भएको हो ।
























