चितवन विशेष
नारायणगढ-मुग्लिन सडकमा गुडिरहेको माइक्रोमा ढुंगा खस्यो,दुईजना घाइते

भरतपुर,५ भदौ ।
नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुंगा खसेर लाग्दा दुई जना घाइते भएका छन । बुधबार बिहान १०ः३० बजेको समयमा भरतपुर महानगरपालिका २९ स्थित १७ किलोमा काठमाडौंबाट नारायणगढतर्फ आइरहेको बा प्र ०१–००६ ख ६४१४ नम्बरको माइक्रोमा ढुंगा खसेर लागेर दुई जना घाइते भएका हुन् । घाइते हुनेमा माइक्रो बसका यात्रु देबचुली नगरपालिका १३ बस्ने ३० वर्षिय कल्पना परियार र उनकी छोरी ८ वर्षिय कन्चन परियार रहेका छन ।
उनिहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार उनिहरुको अवस्था सामान्य रहेको छ । माथिबाट ढुंगा खसेर माइक्रोको सिसामा क्षति पुगेको छ । यो सडकखण्डमा बर्षातको समयमा पटकपटक पहिरो जाँदा सडक अबरुद्ध हुनुको साथै सवारी साधन र मानविय क्षति हुँदै आएको छ । दुई दिनदेखि चितवन आसपासको क्षेत्रमा निरन्तर पानी परिरहेकाले अत्याबश्यक बाहेक यात्रा नगर्न चितवन प्रशासनले सबैमा अनुरोध गरेको छ ।
























