Breaking News

महिला भलिबल खेलाडीसँग प्रधानमन्त्रीको प्रतिबद्धताः कभर्डहल हामी बनाउँछौँ

Banner

काठमाडौ,भदौ ३-

प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धन सोमबारको बिहानीका करिब दुई घन्टा राष्ट्रिय महिला भलिबल टिमसँग छलफल गरेका छन्। प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबिच यस खेलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा ओलीले छलफल गरेका हुन्।

छलफलमा सहभागी खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीहरुले प्रधानमन्त्री निवास, बालुवाटारमा ब्रेकफास्टसँगै मुलुकको कार्यकारी प्रमुखसँग गरेको छलफल सम्भवतः पहिलो पटक रहेको बताएका छन्। प्रधानमन्त्री ओलीसँगको छलफलमा सो टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए।

प्रधानमन्त्री ओलीले दुई साता अघि सम्पन्न ‘काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिता’ हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको अवगत गराउँदै खेलाडीका प्रगति, चाहना र मागबारे आफू जानकार रहेको सुनाए। प्रधानमन्त्री ओलीले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही रु तीन लाख दिने निर्णय गरेको जानकारी गराएका थिए भने खेलाडीले त्यसका लागि आभार व्यक्त गरेका थिए।

ओलीले यस क्षेत्रको मागअनुसार अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने सङ्कल्प गरे। तपाईँहरुलाई थाहा छ कि सरकारको ढुकुटीमा धेरै रकम छैन तर हामी गर्नैपर्ने कामहरू गर्नेछौँ। आगामी खेलमा जित्छौँ जुन तपाईँहरूको मनोबल छ, त्यो साकार होस्।’, प्रधानमन्त्री ओलीले भने, हामीले खेल खेल्ने भनेकै जित्नका लागि हो, त्यस कारण राम्रो ध्यान दिएर जित्छु भन्ने आशा बोकेर लाग्नुस् । सफलता पक्कै मिल्नेछ।’

प्रधानमन्त्री ओलीले गत महिना नेपालमा रहेका रसियाली महिला भलिबल खेलाडीले आफूसँगकोे भेटमा नेपाली टिमको प्रशंसा गरेको स्मरण गर्दै विश्वस्तरका खेलाडीबाट भएको प्रशंसाभित्र नेपाली टिमको सम्भावना लुकेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>