चितवन विशेष

रैथाने बाली कोदो संरक्षणमा भरतपुरको त्रिपुरेश्वर कृषि सहकारी

Banner

भरतपुर, भदौ २- 

चितवनको भरतपुरमा सहकारी मार्फत रैथाने बाली कोदो संरक्षण गर्न थालिएको छ । महानगरपालिका वडा नम्बर–९ स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्थाले हराउँदै गएको कोदो उत्पादन गर्न सदस्यहरु मार्फत अभियान संचालन गरेको हो ।

सहकारी संस्था मार्फत आइतबार भरतपुर वडा नम्वर ८ स्थित ज्योती टोलमा सामुहिक रुपमा कोदो रोपिएको छ । सुरुवातमा बाँझो रहेको आठ कठ्ठाको प्लटमा कोदो रोपिएको संस्थाका अध्यक्ष बेदप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार किसानलाई रैथाने बाली कोदोप्रति आकर्षित गर्नका लागि पहिलोपटक सामुहिक रुपमा कोदो रोपिएको हो ।

‘सहरी क्षेत्रमा कोदो रोप्ने प्रचलन हट्दै गएको छ, मानिसहरुले घडेरी किन्दै छोड्ने बाँझो राख्ने क्रम उच्च छ,सापकोटाले भन्नुभयो,खाली जमिनलाई उत्पादनसंग जोड्नका लागि यो अभियान चलाएका हौं ।’ सापकोटाका अनुसार भरतपुर महानगरपालिका ८ र ९ नम्वर वडामा रहेका करिब १० बिघा जमिनमा कोदो रोपिएको छ । यस बर्ष मात्रै सहकारी संस्था मार्फत बिउ लगेर सात बिघा क्षेत्रफलमा कोदो रोपिएको छ ।
सहकारी संस्थाले गत वर्ष काभ्रेबाट एक केजी रैथाने कोदोको बिऊ ल्याएर रोपेको थियो । त्यसबाट ४१ केजी बिऊ उत्पादन भएको थियो । त्यस बिउ मध्य संस्थाका सदस्यलाई यसबर्ष २२ केजी बिउ बितरण गरिएको सापकोटाले बताउनुभयो ।

भरतपुर महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष यामलाल कँडेलले रैथाने बाली संरक्षणमा वडा कार्यालय लागि परेको बताउनुभयो । महानगरपालिकाले नै रैथाने बाली संरक्षणका लागि पहल गरिरहेको भन्दै आगामी दिनमा कोदो संरक्षणका लागि वडा तहबाट पनि काम गरिने बताउनुभयो । लामो समय पछि कोदो रोप्न पाउँदा स्थानिय समेत हर्षित भएका छन । भरतपुर ८ का चन्द्रमणि कँडेलले पछिल्लो समय कोदो रोप्ने प्रचलन हट्दै जानु चिन्ताको बिषय भएको बताउनुभयो । बिगतमा पहाडमा रहँदा २२ मुरी सम्म कोदो उत्पादन गर्नुभएका उहाँले चितवन झरेपछि कोदो रोप्न छोड्नुभएको थियो । तर यस बर्षभने उहाँले २ कठ्ठा जमिनमा कोदो रोपेको बताउनुभयो ।

चितवनमा कोदोको उत्पादन राम्रो हुने गरेको छ । यहाँ अन्य बालीभन्दा कम लगानी र मेहनमा गर्न सकिने भएकाले किसानका लागि समेत यो लाभदायिक हुने कृषि बिकास कार्यालय चितवनका कृषि अधिकृत उमनाथ अर्यालले बताउनुभयो ।

चितवनमा कोदोको उत्पदकत्व प्रतिहेक्टर एक दशमलब २ मेट्रिकटन छ । गतबर्ष जिल्लाा १ हजार ४ सय ६५ हेक्टरमा कोदो खेती गरिएको कृषि अधिकृत अर्यालले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>