अन्तर्राष्ट्रिय

बङ्गलादेशमा हिन्दुमाथि भएको आक्रमणबारे अस्ट्रेलियाली संसद्‌मा उठाइयो प्रश्न

Banner

क्यानबेरा, साउन ३०-

बङ्गलादेशमा हिन्दुहरूमाथि भइरहेको आक्रमणबारे हालैका दिनमा कयौँ देशहरूमा हङ्गामा मच्चिएको छ । यसैबिच अस्ट्रेलियाको संसद्‌मा पनि यो मुद्दा उठाइएको छ ।

त्यहाँका सांसद जुलियन लिजरले बङ्गलादेशको अवस्था र हिन्दुलगायत अन्य अल्पसङ्ख्यकमाथि भएको आक्रमणको मुद्दा उठाएका छन् । सो आक्रमणलाई उनले मानवीय विनाशको संज्ञा दिएका छन् ।

‘बङ्गलादेशी हिन्दुहरूले हिंसात्मक उत्पीडनको सामना गर्नु परिरहेको छ’ उनले भनेका छन् । ‘बङ्गलादेशमा कानुन र व्यवस्था लगातार बिग्रँदै गइरहेको छ । विभिन्न धर्मका मानिसबिचको आपसी सम्मान घट्दै गइरहेको छ’ लिजरले भनेका छन् ।

मानिसहरूको आ–आफ्नै फरक राजनीतिक विचारधाराहरू भएकोले यस्तो भइरहेको पनि उनले बताए । उनका अनुसार ‘बङ्गलादेशमा हिन्दुहरूले बढ्दो हिंसात्मक उत्पीडनको सामना गरिरहेका छन् । पछिल्ला दिनमा यस्ता घटना बढ्दै गएका छन् । हिंस्रक भीडले हिन्दुहरूको घर, मन्दिर र कार्यस्थललाई निशाना बनाइरहेका छन् ।’

हत्या, लुटपाट र आगजनीको डरले हिन्दु परिवार घर छाडेर भागिरहेका छन् । यी आक्रमणमा हिन्दु मारिएको खबर आइरहेको चिन्ता पनि उनले व्यक्ति गरेका थिए । बङ्गलादेशी हिन्दुहरूको पीडालाई बेवास्ता गर्न नसकिनेमा उनले जोड दिएका छन् ।

बङ्गलादेशमा शेख हसिनाको सरकार ढलेपछि अल्पसङ्ख्यकमाथि एकपछि अर्को गर्दै हिंसाका खबरहरू आइरहेका छन् । सोमबार अन्तरिम सरकारका गृह मामिला सल्लाहकार सखावत हुसेनले अल्पसङ्ख्यकहरूसँग हातै जोडेर माफी मागेका थिए । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>