समाचार
जिल्ला अदालत काठमाडौंमा बेचन झाविरुद्ध ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता

काठमाडौं, साउन ३०-
बेचन झाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ ।
प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मंगलबार झाविरुद्ध अदालतमा पूरक अभियोग दर्ता गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा उनले नेपाल र भारतको दोहोरो नागरिकता लिएको समेत खुलेको थियो ।
उनीमार्फत नक्कली भुटानी शरणार्थी प्रकरणको थप गहिराइमा पुग्न सहयोग हुने अनुमान गरिएको थियो ।
तर, अदालतमा दायर अभियोग पत्रमा समावेश झाको बयानमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको जिकिर गरेका छन् । ‘म कुनै राजनीतिक पार्टीमा आबद्ध व्यक्ति होइन, टेकनारायण पाण्डेसँग मेरो चिनजान सम्पर्क समेत केही छैन’, उनले भनेका छन्, ‘त्यसो हुनाले कहाँ के कस्तो बयान दिएका हुन् उनै जानुस्, चेकको सम्बन्धमा मलाई केही थाहा छैन ।’
तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले पक्राउ परेपछि बयान दिँदै प्रकरणमा राजनीतिक नेतृत्व मिलाउने जिम्मा झाले लिएको बताएका थिए ।
साथै, अनुसन्धान अधिकृतहरुले प्रकरणमा मुछिएकाहरुले झाको नाममा काटेको तीन करोड रुपैयाँको चेक समेत बरामद गरेका थिए ।
तर, आफूविरुद्ध बयान दिने कसैलाई पनि नचिनेको झाले बताएका छन् । झालाई नेपाल प्रहरीको विशेष टोलीले पक्राउ गरेर १५ असारमा नेपाल ल्याएको थियो । त्यसबारे छुट्टै अनुसन्धान भइरहेको प्रहरी अधिकृतहरु बताउँछन् ।
























