Breaking News

बागलुङ पहिरोः गम्भीर घाइते ३ जनालाई हेलिकप्टरमार्फत् काठमाडौं पुर्‍याइयो

Banner

बागलुङ, साउन २३-

बागलुङमा पहिरो परी घाइते भएका तीन जनालाई उपचारको लागि हेलिकप्टरमार्फत् काठमाडौं पुर्‍याइएको छ । बडिगाड गाउँपालिका १० आरुपाटामा हिजो (मंगलबार) खसेको पहिरोले घरगोठ बगाउँदा गम्भीर घाइते बनेका ३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको हो ।

अहिले हेलिकप्टरमार्फत ३१ वर्षीया सीता थापा, १९ वर्षीया रिमा पुन र ४६ वर्षीय संगीता बुढालाई आज (बुधबार) नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि शिक्षण अस्पताल पुर्‍याइएको हो ।

सेनाको हेलिकप्टर मंगलबारै पुगेको भए पनि प्रतिकुल मौसमका कारण घाइतेलाई बडीगाड पुगेर काठमाडौं लैजाने अवस्था नबनेपछि बागलुङ सदरमुकामकै राखिएको थियो ।

त्यस्तै २६ वर्षीय ओमप्रसाश पुन, २३ वर्षीया सिर्जना विक, ४३ वर्षीय मंगल सेनबुढा, ६० वर्षीया सुमित्रा विक, ५१ वर्षीय सशीराम विक र ९ वर्षीय ज्ञाने बुढालाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

बडीगाड–१० आरुपाटामा सुरक्षित ठानेर आश्रय लिएकै घरमा पहिरो खस्दा घरधनी जोगबहादुर बुढा, छिमेकी ७० वर्षीया मोतीदेवी कामी, सिर्जना विकको ६ महिनाकी छोरी सीता विक, ७ वर्षकी मालती बुढा, ८ वर्षीय अमन बुढा र ११ वर्षीया सीता पुनले पहिरोमा पुरिएर ज्यान गुमाएका हुन् ।

मधु बुढा, ३ वर्षीय आरुष थापा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन विक बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको सहायक सीडीओ बरालले जानकारी दिए । ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>