Breaking News
नारायणी नदी तटबन्धनमा बजेट अभाव, गत वर्षकै ४० करोड भुक्तानी दिन बाँकी
चितवन, साउन २२-
नारायणी नदीमा तटबन्धन गर्न लगाइएको ठेक्काको काम बजेटका कारण प्रभावित हुने भएको छ । ठेकेदार कम्पनीहरूले गत वर्षको ४० करोडभन्दा बढी भुक्तानी नपाउँदा काममा समस्या हुन लागेको हो । गत वर्षको कामको भुक्तानी यस वर्ष विनियोजन भएको बजेटबाट आंशिक गरिएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार गत वर्षको भुक्तानी गर्नुपर्ने एक अर्ब १३ करोड ६४ लाखमध्ये ५७ करोड भुक्तानी गरिएको छ । पेश्कीसहित हिसाब मिलान गर्दा गत वर्षको ४० करोडभन्दा बढी काम गरेको भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए ।
आयोजना सबै सम्पन्न गर्न तीन अर्ब ९५ करोड खर्च हुन्छ । हालसम्म दुई अर्ब भुक्तानी गरिएको छ । आयोजनाले चितवनमा नारायणी नदी तटबन्धका लागि लगाएका पाँच ठेक्कामध्ये दुईवटा सम्पन्न भएका छन् । तीमध्ये एउटा पूरै भुक्तानी गरिएको छभने अर्को एउटाको भुक्तानी दिन बाँकी छ ।