समाचार

बंगलादेशमा नेपाली विद्यार्थी सुरक्षित छन् : परराष्ट्रमन्त्री

Banner

काठमाडौं, साउन ७-

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बंगलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित रहेका जानकारी दिएकी छिन्।

आज सामाजिक सञ्जालमार्फत उनले त्यहाँस्थित नेपाली विद्यार्थीको व्यवस्थापन दूतावासले गरिरहेको जानकारी दिएकी हुन्। उनले मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गरी आवश्यक समन्वयका लागि अधिकारी तोकिएको बताएकी छिन्।

‘ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीसँग उनीहरूलाई सुरक्षित तवरले बस्ने, सुरक्षा दिने र आवश्यक परेको अन्य सहयोग सम्बन्धमा नियमित रूपमा सम्पर्क गरिरहेको छ’, उनले भनिन्, ‘बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थी एवं अन्य नेपाली सुरक्षित छन्।’

त्यहाँ रहेका विद्यार्थीको सुरक्षाका लागि आवश्यक समन्वय गर्न तथा नेपाल फर्किन चाहनेहरूका लागि यात्रामा सहजीकरण गर्न निर्देशन दिएअनुसार दूतावासले सो कार्यसम्पादन गरिरहेको उनले बताएकी छिन्।

आइतबार मात्र हवाईमार्गबाट ११५ र काँकडभिट्टा नाका भएर ३०५नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए। आइतबार बिहान फर्किएका ५७ जना नेपाली विद्यार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रका अधिकारीले स्वागत गरेका थिए।

बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण नेपाली विद्यार्थी समस्यामा पर्न थालेको समाचार आएपछि उनीहरूको सहयोगका लागि मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गरिएको छ भने ढाकास्थित नेपाली दूतावासलाई निमियत सम्पर्कमा राखिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>