अर्थ
एक वर्षमा थपियो ३ खर्ब ५८ अर्ब २ करोड सार्वजनिक ऋण

काठमाडौं, साउन ५-
आर्थिक वर्ष २०७९/८० मा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब रहेकामा गत आव २०८०/८१ मा १ खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख थप भएको छ । यससँगै मुलुकको कुल ऋण २४ खर्ब ३३ अर्ब ३३ करोड ९४ लाख पुगेको छ ।
यो समाचार राजधानी दैनिकमा छ, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत जेठ महिनाको तुलनामा कुल सार्वजनिक ऋण ३२ अर्ब ८९ करोड ५८ लाख रुपैयाँले थप भएको छ । गत वर्षको साउनदेखि असार मसान्तसम्ममा १ खर्ब ३४ अर्ब ऋण थपिएर यस्तो ऋण २४ खर्ब ३३ अर्ब पुगेको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार अहिलेसम्मको ऋण कुल गार्हस्थ उत्पादका आधारमा ४२ दशमलव ६५ प्रतिशत हो । नेपालको गार्हस्थ उत्पादन अहिले ५७ खर्ब रहेको छ । गार्हस्थ उत्पादनको ४३ प्रतिशतसम्मलाई खराब मान्न नहुने सरकारी अधिकारी दाबी गर्छन् भने अर्थशास्त्रीहरू नेपालजस्तो मुलुकका लागि ४० प्रतिशत नाघ्नु खतराको संकेत भएको तर्क गर्छन् ।
नेपालको अहिलेको कुल आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड रुपैयाँ रहेको छ भने १२ खर्ब ५२ अर्ब ३३ करोड रुपैयाँबराबरको बाह्य ऋण रहेको छ । अघिल्लो असार मसान्तसम्म आन्तरिक ऋण ११ खर्ब २९ अर्ब १० करोड र बाह्य ऋण ११ खर्ब ७० अर्ब २४ करोड रुपैयाँ रहेको थियो ।
गत आवमा सरकारले आन्तरिक ऋण मात्रै ५१ अर्ब र बाह्यतर्फ ८२ अर्ब रुपैयाँबराबरको ऋण थपिएको छ । आव २०८०/८१ मा कुल ३ खर्ब ५८ अर्ब २ करोड रुपैयाँ ऋण लिएको देखिएको छ । यसमध्ये बाह्यतर्फ १ खर्ब २३ अर्ब ६० करोड र आन्तरिकतर्फ २ खर्ब ३४ अर्ब ४२ करोड रुपैयाँबराबरको ऋण प्राप्ती भएको छ ।
सरकारले गत आवमा कुल २ खर्ब २३ अर्ब ३४ करोड रुपैयाँ कर्जा तिरेको पनि छ । जसमा आन्तरिक कर्जा १ खर्ब ८२ अर्ब ६२ करोड भुक्तानी गरेको तथ्यांक रहेको छ भने बाह्यतर्फ ४० अर्ब ७२ करोड मात्रै भुक्तानी गरेको तथ्यांक रहेको छ ।
आव २०८०–८१ मा सरकारले बजेटमार्फत ऋण सेवा खर्चमा ३ खर्ब ३० अर्ब बजेट विनियोजन गरेको थियो । तर, राजस्व उठाउन नसकेपछि सरकारले यस वर्ष ३ खर्ब ५ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ मात्र भुक्तानी गरेको छ । यो विनियोजित बजेटका आधारमा ९२ प्रतिशत मात्र हो । सरकारले ४३ प्रतिशत गार्हस्थ उत्पादनको कर्जा लिँदा ऋण सेवा खर्च भने ५ दशमलव ३५ प्रतिशत मात्र गरेको छ ।
सरकारले गत आवमा ४ खर्ब ५२ अर्ब ऋण लिने योजना बनाएको थियो । तर, सरकारले वार्षिक बजेटको तुलनामा ७९ प्रतिशत अर्थात् ३ खर्ब ५८ अर्ब २ करोड मात्र ऋण उठाउन सक्यो । यस हिसावले सरकार गत आवमा कर्जा उठाउन पनि असफल देखिएको छ । कुल ऋणमध्ये आन्तरिकतर्फ अधिकतम् ९७ दशमलव ६८ प्रतिशत प्राप्ति भएकामा बाह्य ९विदेशी० ऋणतर्फ लक्ष्यको जम्मा ५८ दशमलव १० प्रतिशत मात्र प्राप्त भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
























