Breaking News
सिमलताल दुर्घटनाः हालसम्म १८ जनाको शव फेला, नौ जनाको मात्रै सनाखत

चितवन, साउन २-
सिमलताल दुर्घटनामा परी बेपत्ता भएका कम्तिमा ६२ जना यात्रुमध्ये हिजो मात्रै चार जनाको शव फेला परेको छ । तीन पुरुष र एक महिलाको शव फेला परेको हो । शवको सनाखत हुन बाँकी छ ।
हिजो नवलपरासीको मध्यविन्दु–२ भुताहामा एक, गैंडाकोट नगरपालिका–१० मा दुई वटा र विनयी त्रिवेणी गाउँपालिका–७ गण्डक व्यारेजको पुलमा एउटा शव भेटिएको हो ।
हालसम्म १८ जना यात्रुको शव फेला परिसकेको छ । घटनास्थलबाट करिब १०३ किमी तल गण्डक व्यारेजसम्म पनि यात्रुका शव भेटिएका छन् । फेला परेका १८ शवमध्ये नौ वटा शवको मात्रै सनाखत भएको छ । सनाखत भएको शव तीन भारतीय र छ नेपाली यात्रुको भएको खुलेको छ ।
एउटा शवको सनाखतमा द्धिविधा उत्पन्न भएको छ । एउटै शवमा दुई फरक व्यक्तिले आफ्नो आफन्त भएको दाबी गरेपछि द्धिविधा उत्पन्न भएको यादवले बताए । बाँकी आठ जनाको सनाखत हुन बाँकी छ ।
गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोले काठमाडौँबाट गौर जाँदै गरेको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो । त्यस यता दुई वटै बस बेपत्ता छन् । दुवै बसमा गरी कम्तिमा ६५ यात्रु सवार रहेकामा तीन यात्रुले पौडिएर ज्यान जोगाए भने ६२ यात्रु त्रिशूली नदीमा डुबेका थिए ।
























