Breaking News
सिमलताल बस दुर्घटनाः गणपति बसका चालक र सहचालकको शव फेला, अझै ४५ यात्रु बेपत्ता

चितवन, साउन १-
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ । उनीहरुको शव घट्ना स्थलभन्दा एक सय तीन किलोमिटर तल गण्डक ब्यारेज पुलमा सोमबार फेला परेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, दुई जनाको शवको सनाखत मंगलबार उनीहरुका परिवारले गरेका हुन् ।
काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परवाह नगरपालिका वडा नम्बर ६का ३५ बर्षिय किशोर कुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ बर्षिय ऋषि कुमार सिंह रहेका थिए । बेपत्ता भएका यात्रुमध्ये नौ वटा शवको पहिचान भएको छ । अझै ४५ यात्रुको अवस्था अज्ञान रहेको चितवनका साहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुषालले जानकारी दिए । पाँच दिनपहिले त्रिशूली नदीमा खसेका दुई वटा बसको अझै अत्तोपत्तो छैन । अहिलेसम्म १७ वटा शव फेला परेका छन् । आठ वटा शवको पहिचान हुन बाँकी रहेको साहायक प्रजिअ भुषालले जानकारी दिए । मंगलबार मात्रै गैडाकोट नगरपालिका १० र मध्यविन्दु नगरपालिकाको नारायणी नदी किनारमा तीन वटा शव फेला परेका छन् । उनीहरुको शव भरतपुर अस्पताल ल्याउने तयारी भएको उनले जानकारी दिए । पहिचान भएकाहरुको शव उनीहरुका आफन्तले घर लगिसकेका छन् ।
वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए । ती बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । सनाखत भएका यात्रुमध्ये गणपति डिलक्सका ६ र एञ्जल डिलक्सका तीन जना रहेका छन् । गणपति डिलक्सका तीन जनाले ज्यान बचाउन सफल भएका थिए ।
दुई वटा बसका यात्रीको खोजी गर्न ठुलो संख्यामा सुरक्षा टोली परिचालन गरिएको छ । तर परिणाम सोचेजस्तो देखिएको छैन । घटनास्थल सिमलतालदेखि गण्डक ब्यारेजसम्मको करिब एक सय तीन किलोमिटर क्षेत्रमा सुरक्षाकर्मी खटाईएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।
























