चितवन विशेष
त्रिशूली किनारमा बेपत्ताका परिवारद्वारा गृह सचिवसँग विलौना

चितवन, असार ३०-
यही असार २८ गते बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिराले दुई वटा यात्रुबाहक बस त्रिशूली नदीमा पु¥यायो । बसमा सवार यात्रुका अधिकांश आफन्त उक्त समाचार सुन्ने वित्तिकै बोकेर घटनास्थल आइपुगेका थिए । उनीहरु विगत तीन दिनदेखि त्रिशूली किनारमा आफन्तहरुको खोजीमा सक्रिय छन् । उनीहरु बिहानदेखि साँझसम्म त्रिशूली किनारमै हुन्छन् । आफन्तलाई जीवितै पाउने आश मार्दै गरेका उनीहरुमा राज्यले सक्ने जति उद्धारमा जुटेन कि ? भन्ने आशङ्का परेको छ ।
उर्लिएको त्रिशूलीको खोचमा आफन्त त परको कुरा दुई वटा बस नै अहिलेसम्म भेटिएका छैनन् । उनीहरुले खोजी कार्य छिटो गरिदिन अनुनय विनय गरिरहेका छन् । तीन दिनको खोजीले उल्लेख्य सफलता नमिलेपछि आज गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल घटनास्थल आइपुग्नुभयो । उहाँहरुलाई घटना स्थलमा रहेका बेपत्ता परिवारका सदस्यहरुले आफ्नो परिवारका सदस्यहरुको छिटो खोजी गरिदिन आग्रह गर्नुभयो । मामाको छोरो (भाई) त्रिशूलीमा बेपत्ता भएपछि खोजीका लागि हेटौँडाबाट आउनुभएका नकुबहादुर थापा अहिलेको तरिकाले बेपत्ताहरु भेट्टाउनै मुस्किल हुने भन्दै अरु विधि अपनाउन आग्रह गर्नुभयो । उहाँले गृहसचिवको टोलीसँग गुनासो गर्नुभयो, “उच्च प्रविधिको प्रयोग गरेर बेपत्ताको खोजी गरिदिनुहोस् ।”
रौतहटबाट भाई खोज्न आउनुभएका मोहन दास अहिले पनि कतै भेटिन्छ की भन्ने आशमा नै हुनुहुन्छ । तीन दिनदेखि आएर नदी तिरै हेरेर मात्रै बस्नुपरेको बताउँदै उहाँले छिटोभन्दा छिटो बेपत्ताको खोजी गरिदिन अनुरोध गर्नुभयो ।यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौलाले दुई वटा बसमा सवार यात्रुहरुको खोजीमा तदारुपता देखाउन आग्रह गर्नुभयो ।
उहाँहरुको गुनासो सुनेपछि गृहसचिव अर्यालले उद्धारका लागि काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “छिटोभन्दा छिटो उद्धार सामग्रीहरु उपलब्ध गराउने विषयमा काम भइरहेको छ, चीन र भारत सरकारबाट पनि सामग्री उपलब्ध गराउने कुरा भएको ।” विपद् प्रतिकार्य योजना तयारी गरी काम भइरहेको बताउँदै उहाँले शवहरु पहिचान र मृतकका परिवारलाई राहत दिने एवं यहाँ उठेका कुरामा गृह मन्त्रालयले नेपाल सरकारलाई जानकारी गराउने बताउनुभयो । यहाँको वस्तुस्थिति प्रधानमन्त्री र गृहमन्त्रीलाई जानकारी गराइने उहाँले बताउनुभयो ।
टोलीले घटनास्थलको स्थलगत अवलोकन र उद्धार कार्यबारे जानकारी लिएको थियो । हालसम्म घटनास्थलभन्दा तल नारायणी नदी किनारमा पाँच वटा शव फेला परेका छन् । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार पहिचान खुल्नेमा भारतको बिहार बेतिया जिल्ला पश्चिम सम्पारण २२ का ४० बर्षिय सजाद अन्सारी, भारतकै जयप्रकाश ठाकुर, माडी नगपालिका वडा नम्बर १ का २२ बर्षिय विकास परियार, सर्लाही बरहथवा नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सितामणी बर्गिनिया जमुहवा बस्ने २८ वर्षीय ऋर्षि पल साह रहेका छन् ।
यही असार २८ गते बिहान ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ नारायगढ–मुग्लिङ सडकखण्डको सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँतर्फ गई रहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुबाहक बस र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१– नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन् । ती दुई बसमा यात्रु चलानीका आधारमा ५१ जना यात्रु सवार भएको पुष्टि भएको थियो । तीमध्ये तीन जना पौडिएर उत्रिएका थिए । उनीहरु अवस्था सामान्य छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना जुटिरहेको छ । रासस
























