चितवन विशेष

बेपत्ता बस र यात्रुको खोजीमा सशस्त्रका ९० जना परिचालन, सिमलतालदेखि गोलाघाटसम्म खोजी

Banner

चितवन,असार ३०-

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालको पहिरोसँगै त्रिशूलीमा खसेका दुई यात्रुवाहक बस खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जनाको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदीसम्म खोजी कार्यलाई निरन्तरता दिएको छ । त्यस्तै अर्को सर्च टोलीले यसअघि प्रयोग भएका विभिन्न डिभाइसहरूको प्रयोग गरी घटनास्थलदेखि १ किलोमिटर तल अर्थात् भरतपुर महानगरपालिका–१६ स्थित देवघाटदेखि ज्ञानेश्वर सामुदायिक वनसम्म खोजी कार्य गरिरहेको छ ।

त्यसैगरी नम्बर १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौज घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्याफ्टिङ बोट र नदी किनारामा पैदल गस्ती गर्दै खोजी कार्यको लागि परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । अविरल वर्षाको कारण नदीमा आएको भेल र धमिलो पानी गर्दा सोनार क्यामरा र अन्य डिभाइसहरूको प्रयोग गर्दा समेत बेपत्ताहरूको खोजी कार्य गर्न असहज भएको बताइएको छ । यी डिभाइसहरूले सफा पानी तथा ताल र पोखरीमा जमेको पानीमा खोजी कार्यको लागि प्रयोग गरिन्छ ।

खोजी कार्यमा नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् । वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९ सिमलताल असार २८ गते बिहान त्रिशूली नदीमा खसेको थियो । शनिबार बेपत्ता यात्रीमध्ये तीनजनाको चार शब भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार मृतावस्थामा चार शव भेटिएकोमा तीन जनाको पहिचान खुलेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>