चितवन विशेष

चालु आवमा चुरे क्षेत्रमा ११ पोखरी निर्माण तथा व्यवस्थापन

Banner

नारायणगढ, असार ९-

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, कार्यान्वयन एकाइ चितवनले चुरे क्षेत्रमा ११ पोखरी निर्माण तथा व्यवस्थापन गरेको छ । कार्यालय प्रमुख श्यामबाबु लोप्चनले चालु आर्थिक वर्षमा कार्यालयको क्षेत्रमा पर्ने चितवन, मकवानपुर, नवलपुर (बर्दघाट–सुस्ता पूर्व), बारा र पर्सामा पोखरी निर्माण तथा व्यवस्थापन गरिएका बताउनुभयो ।

चितवनमा पर्ने राप्ती नगरपालिका–९ रसौलीमा चार रोपनी क्षेत्रफलमा एक करोड लिटर पानी जम्मा हुने गरी रु ३५ लाखको लागतमा पोखरी निर्माण गरिएको र चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने गैँडा ताललाई रु आठ लाखको लागतमा चार रोपनी क्षेत्रफलमा विस्तार गरिएको उहाँले जानकारी दिनुभयो । “वन्यजन्तुलाई पानीको सहजताका लागि पोखरी निर्माण तथा विस्तार गरिरहेका छौँ । यो वर्ष त्यसलाई निरन्तरता दिएका छौँ । यहाँ खडेरीमा पनि वन्यजन्तुलाई पानीको समस्या नहुने गरी पोखरी व्यवस्थापन गरिएका छन्”, कार्यालय प्रमुख लोप्चनले भन्नुभयो ।

यसैगरी नवलपुरको कावासोतीस्थित बुद्ध सामुदायिक वनमा रु पाँच लाखको लागतमा दुई रोपनी क्षेत्रफलमा नयाँ तालको संरचना निर्माण गरिएको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ मा रु २० लाखको लागतमा मोरङ्गे तालको क्षेत्र विस्तार तथा पर्यापर्यटनको दृष्टिले पनि उपयुक्त भएकाले पदमार्गसँगै पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण गरिएका गरिए लोप्चनले बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिका–१६ शक्ति खोलामा एकै स्थानमा तीन पोखरी निर्माण गरिएका छन् । रु पाँच लाखका दरले निर्माण गरिएका ती पोखरी दुई–दुई रोपनी क्षेत्रफलमा फैलिएका छन् । यस्तै हेटौँडा–१५ स्थित कर्णे खोलामा तीन रोपनी क्षेत्रफलमा र बकैया–३ मा पर्ने चम्पा खोलामा रु पाँच लाखको लागतमा पोखरी निर्माण गरिएको कार्यालयले जनाएको छ ।

एकाइले बाराको पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने तीन कुवा पोखरीलाई पुनःनिर्माण गरेको जनाएको छ । रु १० लाखको लागतमा निर्माण गरिएको पोखरी तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । बाराको जितपुर सिमारा–१६ मा रहेको हलखोरीयामा रु १३ लाखको लागतमा हात्तीघोल ताल व्यवस्थापन गरिएको छ । यो ताल आठ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>