Breaking News
इच्छाकामनाको नीति तथा कार्यक्रमः गरिखाने शिक्षा र शुलभ स्वास्थ्य सेवामा जोड, पर्यटन विकासका लागि त्रिभुज परियोजना

कुरिनटार,असार ६-
चितवनको इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहिबार गाउँपालिकाको कार्यालयमा आयोजित पन्ध्रौं गाउँसभामा पालिका अध्यक्ष दानबहादुर गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्बसम्मत रुपमा पारित भएको छ ।
गाउँपालिकाले ‘सुखी खुशी समृद्ध इच्छाकामनाः कृषि पर्यटन पूर्वाधार विकास हाम्रो चाहाना’ भन्ने नारालाई आत्मसाथ गर्दै स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्बाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सुलभ स्वास्थ्य सेवाः नागरिकलाई टेवा अभियान अन्तर्गत इच्छाकामना आधारभूत अस्पतालको निर्माणलाई तीब्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
२४ सै घण्टा प्रयोगशाला सेवासहितको चिकित्सकीय सेवालाई थप सुदृढिकरण गर्दै अस्पतालबाट आवश्यक प्रकृया पुरा गरी स्वास्थ्य बीमा कार्यक्रम लागू गरिने अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । उहाँले तोकिएका औषधिको निःशुल्क उपलब्धता, बिशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर र जेष्ठ नागरिक, बालबालिका र गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षणको प्रभावकारी व्यवस्था मिलाइने जानकारी दिनुभयो ।

पालिकाले स्वास्थ्यसंगै शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । ‘गाउँपालिकाको इच्छा गरिखाने शिक्षा’ स्वर्णिम योजना अन्तर्गत सीपमूलक र व्यवहारिक शिक्षा सहित सुविधा सम्पन्न इसिइडी कक्षा व्यवस्थापन, जीवनउपयोगी शिक्षा, मेरो विद्यालय म बनाउँछु, विद्यालयको सुन्दरता र हराभरा विद्यार्थीहरुको सक्रिय सहभागिता लगायतका कार्यक्रम समाबेश गरेको छ । गाउँपालिकाले स्थानीय उत्पादनको प्रबद्र्धन, विद्यार्थीको पोषण सुधार र विद्यार्थीलाई स्थानीय आवश्यकता अनुसारको सिप विकास गर्न एक विद्यालय एक करेसाबारी, एक विद्यालय एक पूर्वाधार सुधार कार्यक्रम कार्यान्वयनमा ल्याउने जनाएको छ । यस्तै ‘जहाँ विद्यार्थी त्यहाँ शिक्षक’ भन्ने अवधारणा अनुरुप शिक्षक दरबन्दी मिलानको आवश्यक व्यवस्था मिलाइने अध्यक्ष गुरुङद्धारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
गाउँपालिकाले युवालक्षित रोजगारका कार्यक्रम ल्याउनुका साथै बैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई समाजमा पुनः एकीकरण गर्दै बैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सृजनागरी बाध्यताबस बैदेशिक रोजगारीमा जानुपर्ने अवस्थालाई अन्त्य गरिने जनाएको छ । स्थानीय रोजगारीका अवसर सृजन ागर्न अध्यक्षसंग युवा तथा खेलकुद र उपाध्यक्षसंग महिला तथा सिप विकास कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
‘कृषकको उन्नती गाउँपालिकाको समुन्नती’ अभियानलाई प्राथमिकता प्राप्त योजनाको रुपमा अगाडि बढाउन कृषि बाली र पशुपंक्षीमा देखा पर्ने संक्रमक रोग नियन्त्रणका लागि गाउँपालिकास्तरिय क्युआरटी गठन गरी परिचालनलाई प्रभावकारी बनाइने उल्लेख छ । कृषकको सानो–सानो उत्पादनलाई सिधै बजारसंग पहुँच स्थापना गर्नको लागि कृषि एम्बुलेन्स सञ्चालनलाई थप व्यवस्थित एवं प्रभावकारी र जनताको अपनत्व हुनेगरी सञ्चालन गरिने अध्यक्ष गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समावेश छ ।
पर्यटनको प्रचुर सम्भावना भएको गाउँपालिकाले पर्यटन क्षेत्रको विकासका लागि पनि प्राथमिकताका साथ योजना ल्याएको छ । उपरदाङगढी, सिराईचुली र इच्छाकामना मन्दिर लगायतका पर्यटकीय क्षेत्रहरुको उचित एवं व्यवस्थित विकास र विस्तारका लागि ‘इच्छाकामना त्रिभुज परियोजना’ सञ्चालन गर्ने जनाइएको छ ।

जस अन्तर्गत उपरदाङगढी क्षेत्रको एतिहासिक र पुरातात्विक महत्व झल्किने गरी गढी दरबारको निर्माण गरी पुरातात्विक तथा एतिहासिक सङ्ग्रालयको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सिराईचुली क्षेत्रमा प्राकृतिक सौन्दर्यता र पदमार्ग विकास र विस्तारलाई जोड दिइने भन्दै इच्छाकामना मन्दिर क्षेत्रमा धार्मिक सम्पदाहरुको विकास र विस्तारलाई जोड दिइने अध्यक्ष गुरुङले बताउनुभयो । लामो झरना, बालगौरी पाथिभरा मन्दिर, महादेवस्थान, हात्तीबाङ, कुरिनघाट शिवालय जस्ता धार्मिक एतिहासिक पुरातात्विक एवं पर्यटकिय स्थलहरुको भौतिक संरचना निर्माणमा थप लगानी गरी पर्यटन प्रबद्र्धनका कार्यक्रम संचालन गरिने उहाँले बताउनुभयो ।
खानेपानी विस्तार, सडक पूर्वाधार निर्माणलाई तीब्र गतिमा अघि बढाउने योजना ल्याएको गाउँपालिकाले ‘मेरो गाउँ उज्यालो ठाउँ’को अवधारणा अनुरुप ग्रामिण र दुर्गम क्षेत्रमा भरपर्दाै विद्युत सेवा उपलब्ध गराउने जनाएको छ । यस्तै गाउँपालिकाले पालिको मुख्य बजार क्षेत्रमा सडक बत्ती र मास लाइटको व्यवस्थ गर्ने जनाएको छ ।
पालिकामा सुशासन तथा संस्थागत क्षमता विकास नीति अनुरुप ‘पालिकाले देख्छः गतल कार्यलाई छेक्छ’ योजना भित्र मातहतका कार्यालयहरुमा विद्युतीय हाजिरी प्रणालीको जडान र विस्तार गरी गाउँपालिकाको कार्यालयबाट अनुगमन र नियमन गर्ने प्रणालीको विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पालिकाले गाउँगाउँमा पोखरी निर्माणसंगै पानीका स्रोतहरु संरक्षणका लागि कार्यक्रम कार्यान्वयनमा ल्याउने जनाएको छ । पालिकाले सेवा प्रवाहलाई जनताको घरदैलोमा पु¥याउनका लागि एकीकृत घुम्ती सेवा मार्फत सेवा प्रवाह गर्ने र करको दर घटाउँदै करको दायरा बिस्तार गर्दै लैजाने योजना अघि बढाएको छ ।
विकासका क्रममा पछाडी परेका वर्ग,क्षेत्र र समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने,उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धि गरी आर्थिक गतिविधिहरु बढाउने पालिकाले जनाएको छ । गाउँसभामा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत, सातै वडाका वडाध्यक्ष,कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु, कर्मचारी र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।



























