चितवन विशेष
सांसदको नीजि लगानीमा स्कूललाई इलेक्ट्रिक गाडी

भरतपुर,असार ५-
चितवन क्षेत्र नं ३ का सांसद विक्रम पाण्डेले आफ्नो निजी लगानीमा स्कूलका लागि गाडी (भ्यान) उपलब्ध गराउनुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २१ मनिपुरको श्री कालिका आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि सांसद पाण्डेले गाडी उपलब्ध गराउनुभएको हो ।
३० जना विद्यार्थी राख्न मिल्ने इलेक्ट्रिक गाडीको साँचो बुधबार सांसद पाण्डेले स्कूल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर थापा र प्रधानाध्यापक केशवराज रेग्मीलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै सांसद पाण्डेले स्कूललाई उपलब्ध गराएको इलेक्ट्रिक भ्यानले टाढाबाट हिँडेर आउनुपर्ने बालबालिकालाई सहज हुने र अध्ययन अध्यापनमा सुधार आउने बताउनुभयो । उहाँले आवश्यकता अनुसार विद्यालयलाई सहयोग गर्ने भन्दै स्कूलको शैक्षिक गुणस्तरमा ध्यान दिन समेत आग्रह गर्नुभयो ।
बागमती प्रदेश ०६–०१ छ ०००२ नम्बरको इलेक्ट्रिक गाडी प्राप्त गरेपछि विद्यार्थी अभिभावक खुसी भएको प्रधानध्यापक रेग्मीले बताउनुभयो । उहाँले नीजि विद्यालयसँग प्रतिस्पर्धा र गुणस्तरिय शिक्षाका लागि इलेक्ट्रिक गाडी महत्वपूर्ण हुने बताउनुभयो । विद्यालयमा अधिकांस विपन्न र दलित समुदायका बालबालिका अध्ययन गर्छन् । पछिल्लो समय स्कूलको शैक्षिक गुणस्तर समेतवृद्धि भएको प्रधानाध्यापक रेग्मीको भनाई छ ।