Breaking News
भरतपुरबाट अष्ट्रेलिया र जापान जाने धेरै, बैदेशिक रोजगारीमा कुन देशमा कति गए ?

चितवन,जेठ २९-
भरतपुर महानगरपालिकामा बैदेशिक रोजगारीमा जानेको संख्या तीब्र गतिमा बढेको छ । भरतपुर महानगरपालिकाका ९६ हजार ५ सय ९१ घरधुरी मध्ये ३४ हजार पाँच सय ८ घरधुरीका व्यक्ति बैदेशिक रोजगारीमा गएको तथ्याङकले देखाएको छ । प्रतिशतका आधारमा भरतपुरका ३५.७२ प्रतिशत घरधुरी रोजगारीमा छन् । हालसम्म महानगरपालिकाबाट ४१ हजार ७ सय ८६ जना वैदेशिक रोजगारीमा गएका छन् ।
सुरक्षित आप्रबासन (सामी) कार्यक्रमले दिएको जानकारी अनुसार अहिलेपनि महानगरपालिकाबाट ३० हजार ५ सय ५५ जना अहिलेपनि बैदेशिक रोजगारीमा छन । बैदेशिक रोजगारीमा जानेमध्ये अष्ट्रेलिया सबैभन्दा धेरैको आकर्षकको गन्तव्य बनेको छ । खाडी मुलुकभन्दा अष्ट्रेलिया, जापान, युरोप, अमेरिका जाने कामदारहरुको संख्या बढ्दै गएको सामी कार्यक्रम हेल्भेटासकी संयोजक उमा पौडेलले जानकारी दिनुभयो । बैदेशिक रोजगारीमा जाने मुलुक ३४ भन्दा बढि छन ।
पौडेलका अनुसार अष्ट्रेलियामा भरतपुरबाट ५ हजार ५ सय ७३ जना अष्ट्रेलिया गएका छन । त्यस्तै जापनमा ४ हजार २ सय ४८, युएइमा ४ हजार १ सय २६,साउदी अरब २ हजार ५ सय ७, कतारमा २ हजार ४ सय ७९, अमेरिकामा १ हजार ९ सय २०, भारतमा १ हजार ४ सय ९०,मलेसियामा १ हजार १ सय ८ जना गएका छन ।
भरतपुर महानगरपालिकाका २९ वडा मध्ये सबैभन्दा धेरै ४ र ११ नम्वर बाट धेरै बिदेश गएका छन । वडा नम्वर ४ बाट २ हजार ६ सय ३१ जना,वडा नम्वर ११ बाट २ हजार १९ जना,वडा नम्बर १६ बाट १ हजार ७ सय ३६ जना बिदेश गएको तथ्याङमा उल्लेख छ ।
यी मुलुकहरुबाट भरतपुर महानगरपालिकामा ११ अर्ब ९६ करोड ९१ लाख २२ हजार बढि रेमिट्यान्स भित्रिएको संयोजक पौडेलले जानकारी दिनुभयो । रेमिट्यान्स बढि भित्रनेमा अष्ट्रेलिया,जापान तथा खाडी मुलुकहरु रहेका छन । युरोप,अमेरिका लगायतका देशबाट रेमिट्यान्स न्यून भित्रिएको सामी परियोजनाले जनाएको छ । रेमिट्यान्सबाट आएको रकममध्ये अधिकांस ऋण तिर्नमा उपयोग हुने गरेको छ ।