पत्रपत्रिका

अमेजनमा पाइने मिचाहा प्रजातिका माछा नेपालका नदीमा

Banner

विराटनगर, जेठ २९-

मोरङको बेलबारी र धनपालथानमा माछाको गैरदेशीय प्रजाति पत्ता लागेको छ । दक्षिण अमेरिकाको अमेजन नदीको उक्त माछा नेपालमा पाइएको हो । पूर्वी र दक्षिण एसियाली देशहरूमा केही वर्षयता यसको व्याप्ति बढी छ ।

यो समाचार गोरखापत्र दैनिकमा छ, ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम गरेको यो माछा नेपालमा पहिलो पटक मोरङको बेलबारीमा चार वर्षअघि देखा परेको थियो । नयाँ प्रजातिको माछा भन्ने शङ्का लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ताहरू जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनालले यसलाई पहिल्याउन थाल्नुभएको थियो ।

उहाँहरूसँगै दुई जना चिनियाँ अनुसन्धानकर्ता जिनक्वान याङ र चेनहोङ लीको सहयोगमा अति मिचाहा स्वभाव भएको यो माछा नेपालका लागि नयाँ प्रजाति हो भन्ने पुष्टि भएको हो । यो माछाको बासस्थान, शारीरिक र आनुवांशिक बनोट तथा आनीबानीको अध्ययन भएको थियो । सोही अध्ययनबाट नेपालमा पहिलो पटक भेटिएको भन्ने कुरा पुष्टि गर्दै उनै अनुसन्धानकर्ताहरूद्वारा लेखिएको एक लेख ‘बायोइन्भेजन्स् रेकर्डस्’ भन्ने विज्ञान पत्रिकाको हालैको अङ्कमा छापिएको छ । स्तरीय मानिएको (क्यु टु) उक्त विज्ञान पत्रिकामा उल्लेख भए अनुसार लोहन्द्रा नदीबाट यस माछाका ४३ वटा नमुना सङ्कलन गरिएको थियो । पूर्वी नेपालका तमोरलगायत प्रायः स्थायी नदीका ५० स्थानमा अध्ययन गरिएकोमा लोहन्द्राका दुई स्थानमा यो प्रजाति र यही जातको अर्को प्रजाति भने दमकतिरका नदीमा भेटिएको छ ।

हेर्दा आकर्षक लाग्ने, दुई सयदेखि तीन सय ग्राम तौलसम्मका नमुना सङ्कलन गरिएका थिए । अमेरिकाको माछा नेपाल कसरी आइपुग्यो भन्ने जिज्ञासामा अनुसन्धानकर्तामध्येका एक जसहाङ लिम्बूले भन्नुभयो, “यसमा हामीले दुई वटा बाटो अनुमान गरेका छौँ । कि चाहिँ कसैको एक्योरियमबाट फुत्केर प्राकृतिक नदी प्रणालीमा गयो कि भारतबाट नदीमा खेल्दै यता आयो ।”

जताबाट आए पनि यो नेपाल भित्रिएपछि यहाँका रैथाने माछालाई हेप्ने, खानेकुरा खाइदिने, फुल र भुरा खाइदिने गरेको पाइएको लिम्बूको भनाइ छ । जसका कारण हाम्रा रैथाने माछा नासिने सम्भावना हुन्छ । यसले धेरै देशमा यस्तो विध्वंस मच्चाउँदै प्राकृतिक पारिस्थितिक प्रणालीलाई असन्तुलित पार्दै आएको छ ।

“यो पहिला लजालु हुन्छ, स्थिर बसिराख्छ तर मौका पर्दा रैथाने माछालाई आक्रमण गर्ने, टोक्ने र बच्चालाई त खाइदिने गर्छ ।” अनुसन्धानकर्ता लिम्बूले भन्नुभयो, “मोरङको लोहन्द्रा खोलामा यो स्थापित भइसकेको छ ।”

अनुसन्धानकर्ताहरूको टोली सन् २०१९ देखि यसको खोजीमा लाग्दा यो लोहन्द्रा खोलामा यो स्थापित भइसकेको र सङ्ख्या निरन्तर बढिरहेको पाइएको थियो । अब अरू नदी तथा माछा पालन गरिएका पोखरीमा विस्तार हुन सक्ने सम्भावना पनि उत्तिकै रहेको छ । “व्यावसायिक पोखरीमा पस्यो भने यसबाट ठुलो क्षति हुन्छ,” यो अमेरिकी माछालाई खासमा एक्वारियममा राखी सुन्दरता हेरी आनन्द लिने हो तर खानमा यो अप्रिय प्रजाति हो । लिम्बूले भन्नुभयो, “यो माछामा खास स्वाद नभएकाले मन पराएर मानिसले खाँदैनन् ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>