चितवन विशेष

सहकारीका समस्या समाधान गर्न चितवनमा सम्मेलन आयोजना

Banner

चितवन,जेठ २४-

जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाका समस्या समाधान गर्न चितवन सहकारी सम्मेलन आयोजना गरिने भएको छ । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघले यही जेठ २५ र २६ गते सम्मेलन गर्न लागेको हो ।

सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी सहकारीका सदस्यको बचत संरक्षण र संस्थाको स्थायीत्व एवं विकासका लागि सम्मेलन गर्न लागेको जनाएको छ । सङ्घकी अध्यक्ष बिद्या कोइरालाले सङ्घमा आबद्ध दुई सय पाँच सहकारीका अध्यक्ष र व्यवस्थापक गरी सम्मेलनमा चार सय हाराहारीको सहभागिता रहने जानकारी दिनुभयो ।

पछिल्लो समय बचत तथा ऋण सहकारी संस्थामा देखिएका समस्याका कारण बचतकर्ताको बचत असुरक्षित बन्दै जानुमा जिल्लालाई कार्य क्षेत्र बनाएर खोलिएका सहकारीबाट नभई बाहिरी जिल्लामा प्रधान कार्यालय भएका सहकारी धेरै रहेको उहाँले बताउनुभयो । यहीँ मुख्य कार्यालय भएका केही सहकारीमा समस्या देखिए पनि ती समस्या समाधान हुँदै गएको उहाँले बताउनुभयो । सुरक्षित लगानी नभएका थप तीनवटा सहकारीमा समस्या देखिएको उहाँको भनाइ छ । सम्मेलनले ऋण असुलीका लागि स्थानीय तहलाईसमेत झकझक्याउन मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सहकारीलाई गुणस्तरीय बनाउन सात वर्षपछि सम्मेलन आयोजना गरिएको सङ्घका सल्लाहकार तेजेन्द्रबहादुर खड्काले बताउनुभयो । मनोमानी सञ्चालन गरिएका सहकारीमा ऋण असुलीमा समस्या देखिने गरेको उहाँको भनाइ थियो ।

सङ्घका सचिव सुदीप रेग्मीले सम्मेलनमा सहकारीसम्बन्धी छवटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने सम्मेलनले वित्तीय सहकारीमा जोखिम मापन न्यूनीकरणका उपाय खोजी गरीने उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>