चितवन विशेष
चितवनमा बियाँ रहित खरबुजा खेती,फर्मबाटै रोजेर किन्न पाइने

भरतपुर,जेठ १७-
चितवनमा पहिलो पटक बियाँ रहित खरबुजाको उत्पादन सुरु भएको छ । भरतपुर महानगरपालिका–५ समीचोकस्थित नेपाल एग्रोभाइन प्रालिमा बियाँ रहित (सिडलेस) खरबुजाको उत्पादन सुरु गरिएको हो ।
सन् २०२१ सालमा यो जातको खरबुजाको परीक्षण खेती गरिएपनि यस वर्षदेखि व्यवसायिक रुपमा उत्पादन गर्न थालिएको हो । अमेरिकन जातको यो खरबुजाको बीउ भारतबाट ल्याएर रोपिएको फर्मका सञ्चालक शसन देवकोटाले बताउनुभयो । अहिले बजारमा बियाँसहितको गाढा हरियो खालको खरबुजा उपलब्ध हुने गरेको छ । त्यो जातको खरबुजा पनि यहाँ उत्पादन हुन्छ ।
एग्रोभाइन प्रालि मार्फत यहाँ १० कठ्ठामा खरबुजा खेती गरिएको छ । ‘चितवनको माडीमा पनि झण्डै एक बिघामा बियाँ रहित खरबुजा लगाइएको छ’, देवकोटाले भन्नुभयो, ‘नेपालमा यहाँ मात्रै यो खरबुजा लगाइएको छ ।’ उहाँले बियाँ रहित खरबुजा स्वादिलो, मिठो रहेको भन्दै बालकदेखि बृद्धसम्मले मन पराउने गरेको बताउनुभयो । ‘गर्मी महिनामा धेरैले रुचाउने फलफूलमध्य एक खरबुजा हो, हामी प्रायः खरबुजा खाँदा त्यसको बियाँ निकालेर खाने गर्छौँ, तर हामीले उत्पादन गरेको खरबुजा बियाँ रहित छ’, उहाँले भन्नुभयो ।
अनुसन्धानसँगै व्यावसायिक रुपमा गरिएको खरबुजा खेतीले राम्रो उत्पादन दिएपछि उत्साहित भएको देबकोटा बताउनुहुन्छ । बियाँ रहित खरबुजा फर्मबाट ६० देखि ७० रुपैयाँ किलोसम्ममा बिक्री हुने गरेको छ । यो खरबुजाको माग बढ्दो रहेको भन्दै उहाँले काठमाडौँ उत्पादन पठाउन सुरु गरेको बताउनुभयो । ‘हामीले उत्पादन गरेको खरबुजामा विषादी न्यून छ’, उहाँले भन्नुभयो, ‘सुरुआती चरणमा बोटमा केही मात्रमा हालिएको हो, उपभोक्ताले ढुक्क भएर खाए हुन्छ ।’ उहाँले फर्ममा आउनेहरुले छानेर खरबुजा लैजानसक्ने बताउनुभयो ।
दश कठ्ठामा खरबुजा खेतीका लागि झण्डै दुई लाख लगानी भएको देबकोटा बताउनुहुन्छ । ‘बियाँ रहित खरबुजाको बीउ महँगो छ’, उहाँले भन्नुभयो, ‘प्रतिबोट दुईदेखि तीन वटा फल दिन्छ ।’ यो फल रोपेको ८० दिनमा बिक्रीका लागि तयार हुन्छ । फागुन अन्तिम साता खरबुजा रोपेको भन्दै अर्का सञ्चालक राधिका रिजाल देवकोटाले १० किलोसम्मको खरबुजा फलेको बताउनुभयो । यो खरबुजार भाटभटेनी लगायतका सुपरमार्केटमा पनि बिक्रीका लागि राखिएको उहाँले जानकारी दिनुभयो ।
खरबुजा ९२ प्रतिशत पानी, खनिज र भिटामिनहरूले भरपूर्ण हुन्छ । एग्रोभाइन प्रालिमार्फत यहाँ व्यवसायिक स्ट्रबेरी खेतीसमेत गरिएको छ । फर्ममै पुगेर टिपरे खाने यहाँको स्ट्रबेरी प्रख्यात समेत भएको छ । फर्ममा खरबुजा र स्ट्रबेरीसँगै तरकारी खेती समेत गरिएको छ । शसनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट कृषिमा स्नातक र अमेरिकाको युनिभर्सिटी अफ फ्लोरिडाबाट स्नातकोत्तर गर्नुभएको छ ।
विगतका केही वर्ष स्ट्रबेरीमा अनुसन्धान गरिहनुभएका उहाँको अग्रसरतामा नै सात जना युवा मिलेर यहाँ व्यावसायिक खेती गरिएको हो । उहाँको टोलीमा रहेका सबै युवाले कृषि नै पढेका हुन् । पढेका व्यक्तिले व्यावसायिकरुपमा कृषि गर्दा निकै राम्रो आम्दानी हुने देवकोटाको भनाइ छ । अब पढेका व्यक्तिले कृषि नगर्ने हो कृषि उत्पादन बढाउन नसकिने उहाँले बताउनुभयो ।