चितवन विशेष
सहकारी ठगीमा चितवनबाट पक्राउ परेका सीबी लामा, यस्तो छ अपचलनको नालीबेली

चितवन,जेठ १८-
करिब ७ हजार बचतकर्ताको झण्डै ६ अर्ब रुपैयाँ अपलचन गरेको आरोप थियो सीबी लामालाई । कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका संस्थापक रही निरन्तर २४ वर्ष अध्यक्ष रहेका लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले त्यही आरोपमा १८ जेठ अर्थात आज पक्राउ गरेको छ ।
तीन महिनादेखि फरार रहेका लामा काठमाडौंमा भने बस्ने गरेका थिएनन् । अपचलन थेगिन नसक्ने अवस्थामा पुगेपछि लामा काठमाडौंबाहिर नै बस्न थालेका थिए । खासगरी, भारत र नेपालको सीमा क्षेत्रमा बस्ने गरेका थिए । प्रहरीले उनलाई त्यसरी नै ट्रयाकिङ पनि गरेको थियो । सीमा क्षेत्रमा बसेर पक्राउ पर्नबाट जोगिँदै आएका लामा आज भने चितवनबाट प्रहरीको नियन्त्रणमा आए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सानकुमार भट्टराईका अनुसार पक्राउ परेका लामालाई काठमाडौं ल्याइदैछ । भट्टराईले लामालाई चितवनबाट पक्राउ गरिएको जानकारी दिए । भट्टराईले भने, ‘दुईरतीन महिनादेखि फरार रहेका लामा भारतीय सीमा क्षेत्रमा हुने गरेको पाइएको थियो । अहिले भने चितवनबाट पक्राउ परेका छन् । उनलाई काठमाडौं ल्याइँदैछ ।’
सहकारी क्षेत्रमा टाइकुनकै रूपमा रहेका लामा अहिले पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका अध्यक्ष थिए । कान्तिपुरको अलावा पशुपतिको पनि करिब २ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लामामाथि छ । त्यसरी हेर्दा ८ अर्बभन्दा बढी सहकारीको रकम लामाले अपचलन गरेको देखिन्छ ।