Breaking News

चितवनको इच्छाकामना गाउँपालिका पूर्ण विद्युतिकरण घोषणा, विकट चेपाङबस्तीमा पुग्यो बिजुली

Banner

भरतपुर,बैशाख ६-

चितवनको इच्छाकामना गाउँपालिकालाई पूर्ण विद्युतिकरण पालिका घोषणा गरिएको छ । शनिवार पालिकाको वडा नम्वर १ कालिङमा आयोजित कार्यक्रम मार्फत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पालिकालाई पूर्ण विद्युतिकरण घोषणा गर्नुभयो ।

सो अवसरमा बोल्दै निर्देशक घिसिङले प्राधिकरण देशव्यापी विद्युतिकरणको अभियानमा लागेको भन्दै शतप्रतिशत विद्युतिकरणको अन्तिम चरणमा रहेको बताउनुभयो । इच्छाकामनामा पूर्ण विद्युतिकरण भनेपनि घरघरमा विजुली बाल्न केही समय लाग्ने उहाँले बताउनुभयो । ‘घरघरमा पोल र तार पुगिसकेको हुनाले पूर्ण विद्युतिकरण घोषणा गरेका हौं,उहाँले भन्नुभयो, यसको लागि मिटर वितरण र मिटर जोड्ने काममा अब झन् तीब्र गतिमा हुनेछ र त्यसमा गाउँपालिकाले सहजिकरण गर्नेछ ।’

निर्देशक घिसिङले विपन्न समुदाय बसोबास गर्ने ठाउँमा अन्तिम चरणमा विद्युतिकरण भइरहेको भन्दै विपन्न बर्गमा निःशुल्क मिटर बक्स वितरण गरेको बताउनुभयो । इच्छाकामनामा विद्युतिकरणको काम सम्पन्न गर्न तदारुकताका साथ काम गरिएको भन्दै गाउँपालिकाले निकै सहयोग गरेको उहाँले बताउनुभयो । ‘बिजुली नपुगेको ठाउँमा बत्ती बाल्नु हाम्रो प्रमुख दायित्व हो,उहाँले भन्नुभयो, एक बर्षभित्र देशका सतप्रशितमा ठाउँमा विजुली बाल्नेछौं ।’ पहिले विद्युत माग्दै नागरिक प्राधिकरणमा धाउनुपर्ने अवस्था रहेको भन्दै उहाँले अहिले कहाँ विजुली छैन भनेर प्राधिकरण नै नागरिकको घरघरमा जाने गरेको बताउनुभयो । २० युनिटसम्मको बिजुली महिनाको जम्मा ३० रुपैंयामा उपलब्ध गराएको निर्देशक घिसिङले जानकारी दिनुभयो । उहाँले इच्छाकामनामा विद्युत मर्मत सम्हारका लागि सानो युनिट खोल्ने तयारी गरिएको भन्दै यहाँका चेपाङलाई नै रोजगार दिने बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पछिल्लो एक बर्षमा इच्छाकामनामा दु्रत गतिमा विद्युतिकरणको काम गरिएको बताउनुभयो । विद्युत प्राधिकरण र स्थानियको सहयोगको कारण समयमै काम सम्पन्नको चरणमा रहेको उहाँले बताउनुभयो । ’बिशेष गरेर चेपाङ बस्ती रहेको वडा नम्वर १ र २ मा विजुली पुग्न सकेको थिएन, पालिमामा एक बर्षको प्राप्त हुने बजेट बराबरको बजेट विद्युत प्राधिकरणबाट प्राप्त भएपछि सम्भव भयो,उहाँले भन्नुभयो ।’ गाउँपालिका र प्राधिकरणबाट बिपन्नलाई निःशुल्क मिटरबक्स, तार र केही एमसिबी समेत वितरण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । लालपूर्जा नभएकालाई मिटरबक्सका लागि एक हजार धरौंटी राख्ने व्यवस्था रहेकोमा अवस्था हेरेर तिर्न नसक्ने विपन्नका लागि गाउँपालिकाले नै जम्मा गरिदिने उहाँले बताउनुभयो । ‘सबै घरमा वायरिङ सकिएको छ,उहाँले भन्नुभयो, अब मिटरबक्स जडान गरेपछि दुई/तीन हप्तामै सबै घरमा बिजुली बल्नेछ ।’ पालिकामा करिब ६२ सय घरधुरी छन ।

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले प्राधिकरणको अथक मेहनत र गाउँपालिकाका जनप्रतिनिधि र नागरिकको साथ र सहयोगले सबै वडाको टोलटोलमा बिजुली पुगेको बताउनुभयो । उहाँले इच्छाकामना गाउँपालिकामा विद्युतिकरणका लागि पन्ध्र करोड ४७ लाख खर्च भएको जानकारी दिनुभयो । त्यसमा वडा नम्वर १ मा १ करोड ७५ लाख,वडा नम्वर २ मा ४ करोड ६७ लाख,वडा नम्वर ३ मा ४६ लाख,वडा नम्वर ४ मा १ करोड २४ लाख,वडा नम्वर ५ मा १ करोड ८ लाख,वडा नम्बर ६ मा ५ करोड ७१ लाख र वडा नम्वर ७ मा ५३ लाख बजेट बिनियोजन भएको जानकारी दिनुभयो । यो योजना अन्तर्गत पालिकामा २५ सय पोल गाडिएको र १३ वटा ट्रान्सफर्मर थपिएको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार केही दिनमा बाँकी मिटरबक्स जोड्ने गरी काम गरिनेछ । पछिल्लो समय वडा नम्बर एकमा मात्र ४ सय मिटर जडानको क्रममा रहेको उहाँले बताउनुभयो । प्राधिकरणको निर्देशन अनुसार नै चेपाङ समुदायलाई निःशुल्क मिटरबक्स उपलब्ध गराइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष माया सिलबालले निर्वाचनमा गरेका प्रतिबद्धताहरु क्रमश पुरा हुँदै गइरहेको बताउनुभयो । उहाँले कुनै समस्या भए जनप्रतिनिधिलाई भन्न अनुरोध गर्दै गाउँमा पुगेको विद्युत, खानेपानी र सडक पूर्वाधारको सदुपयोग गर्दै आयआर्जनमा जुट्न अनुरोध गर्नुभयो । इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले पूर्ण विद्युतिकरण घोषणा कार्यक्रममा स्थानियलाई निःशुल्क मिटरबक्स समेत वितरण गरिएको जानकारी दिनुभयो । उहाँले पालिकाका बिकट मानिएका ठाउँमा पनि बिजुली पुगेको भन्दै नागरिक हर्षित भएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>