मनोरञ्जन
जापानमा शम्भुजीतलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं, वैशाख ३१-
जापानमा भएको दोस्रो संस्करणको एएमएस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले अवार्ड पाएका छन् ।
राजधानी टोकियोमा आयोजित समारोहमा २६ विधामा अवार्ड प्रदान गर्दा संगीतकार बास्कोटाले लाइफटाइम अचिभमेन्टको अवार्ड प्राप्त गरेका हुन् । कार्यक्रममा संगीतकार बास्कोटालाई ७१ हजार १०१ रुपैयाँ राशिसहित दीर्घ साधना सम्मान प्रदान गरिएको थियो ।
समारोहमा गायक-गायिकाहरु अञ्जु पन्त, कमल खत्री, स्मिता दाहालसहित नृत्य निर्देशक गजित विष्टलाई अवार्ड प्रदान गरियो । नेपाली संस्कृतिलाई विश्वव्यापी बनाउन र जापानमा लामो समय रहेर पेशा-व्यवसाय गर्दै आएका नेपाली समुदायलाई आफ्नो भाषा, साहित्य, कला संस्कृतिसँग जोड्न यो कार्यक्रम आयोजना गरेको आयोजक सनराइज कम्पनी अध्यक्ष कर्साङ तामाङले बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, संगीतकार संघका अध्यक्ष चेतन सापकोटा लगायतको सहभागी रहेको समारोहमा नेपाली फिल्मलाई कसरी विश्वव्यापी बनाउन सकिन्छ भन्ने विषयमा छलफल समेत भएको थियो ।
























