देश/प्रदेश

मानुङकोटमा मापदण्ड तोकेर घर निर्माण प्रक्रिया खुल्ला

Banner

दमौली (तनहुँ), वैशाख २६-

तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय मानुङकोटमा घर निर्माण प्रक्रिया खुल्ला गरिएको छ । पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भइरहेको मानुङकोटमा मापदण्ड तोकेर घर निर्माण प्रक्रिया खुल्ला गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

मानुङकोटमा स्थानीयवासीले बस्ती छाड्दै जाने र बाहिरबाट जानेहरुले जथाभावी घर निर्माण गर्न थालेपछि नगरपालिकाले घर निर्माण प्रक्रिया रोकेको थियो । पर्यटकीय क्षेत्रको मौलिकता कायम गर्नका लागि यस्तो निर्णय गरिएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिनुभयो । नगरपालिकाले निकास नखुलेका घरजग्गाहरु समेत समेटी मानुङकोट पर्यटकीय क्षेत्रको जग्गा विकास आयोजना अगाडि बढाउने निर्णय गरेको उहाँको भनाइ छ ।

मानुङकोटमा घर निर्माण गर्दा मौलिकता झल्कने खालका निर्माण गर्न दिने विषयमा छलफल भएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो । यहाँ आफूखुसी संरचना बनाउन नदिन मापदण्ड तोक्ने निर्णय भएको उहाँले बताउनुभयो ।

मानुङकोटमा खानेपानीको दुःख हुन थालेपछि यहाँबाट स्थानीय सहर झर्न थालेका थिए । अहिले पनि यहाँ पानीको सुविधा पुगिसकेको छैन । पछिल्लो समय पर्यटकको चहलपहल बढेपछि गाउँ छाडेकाहरु पुनः फर्किन थालेका छन् । ७० घरपरिवार रहेको मानुङकोटमा अहिले १०÷१२ घर मात्रै छन् ।

सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङकोटमा विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको स्थानीय बताउँछन् । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।

मानुङकोटबाट पाँचवटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । यहाँबाट धौलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । दमौलीबाट सात किलोमिटर दूरीमा अवस्थित यहाँ पुग्नका लागि सडक कालोपत्र भएको छ । सडक कालोपत्र भएपछि सर्वसाधारणलाई मानुङकोट उक्लिन सहज भएको छ । मानुङकोट कोरोनापछि एक्कासि चर्चामा आएको हो । कोरोनाकालमा एकैदिन दश हजारभन्दा बढी पर्यटक मानुङकोट उक्लिएका थिए । गर्मी मौसममा भन्दा जाडो मौसममा यहाँ पर्यटकको बाक्लो उपस्थिति रहने गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>