Breaking News

उपेन्द्रलाई प्रचण्डले भने-जसपा नेपाल फुट्नु राम्रो होइन, तपाईंहरू मिलेरै जानुस्

Banner

काठमाडौं, वैशाख २५-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारूढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

यादव उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका उनले गए राति स्वदेश फर्किएर मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन्। यादव अमेरिका भ्रमणमा रहेका बेला उनको दल विभाजन भएर अशोक राई नेतृत्वमा जनता समाजवादी गठन भएको थियो।

आफूले प्रधानमन्त्री दाहालसँग कुराकानी गरेको यादवले जानकारी दिए। थप कुरा उनले खुलाएनन्। प्रधानमन्त्री दाहालसँग यादवले आफ्नो दल विभाजन हुन पुगेको विषयमा कुरा गरेका थिए।

त्यसमा प्रधानमन्त्री दाहालले कुनै पनि दल फुट्नु राम्रो नहुने र सत्ता गठबन्धनभित्रै रहेको दल जसपा नेपाल फुट्नु झन् राम्रो नभएको प्रतिक्रिया दिएका थिए।

‘दलहरू फुट्नु राम्रो होइन। झन् सत्ता गठबन्धनभित्रै रहेको दल जसपा नेपाल फुट्नु राम्रो होइन,’ प्रधानमन्त्रीले यादवसँग भनेका कुरा उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘कुनै पनि दल फुटाउन जोड गर्न हुन्न। म त मिलेर जानुपर्छ भन्छु। तपाईंहरू पनि मिलेरै जानुस्, आपसमा छलफल गर्नुहोस्।’

प्रतिनिधि सभामा १२ सांसद रहेको जसपा नेपाल आइतबार विभाजन भएको थियो। अशोक राईसहित ७ जना सांसद मिलेर जनता समाजवादी गठन गरेका थिए। नयाँ दललाई सोमबार निर्वाचन आयोगले मान्यता दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>