चितवन विशेष
विज्ञापन कर नतिर्ने बिदेशी कम्पनीका होडिङ बोर्ड भरतपुर महानगरले हटायो

चितवन, वैशाख ८-
भरतपुर महानगरपालिकाले विज्ञापन कर नतिर्ने बिदेशी कम्पनीका होडिङ बोर्ड हटाउन सुरु गरेको छ । शनिवारदेखि नारायणगढ बजार क्षेत्रका सार्वजनिक स्थान र पसलहरुमा राखिएका बोर्ड हटाउन सुरु गरिएको हो । महानगर प्रहरी प्रमुख कृष्णहरी ढकालका अनुसार महानगरपालिकाले पटक–पटक ताकेता गर्दापनि करको दायरामा नआएपछि होडिङ बोर्ड हटाइएको बताउनुभयो ।
महानगरपालिकाले महानगरभित्र विज्ञापनका होडिङबोर्डको कर उठाउने जिम्मा प्रनिस कन्सट्रक्सनलाई दिएको छ । कन्सट्रक्सनका प्रतिनिधिसहित महानगर प्रहरीले बजार क्षेत्रबाट बाल्ट्रा, सुपर जनरल, होम ग्यालरी, तयारी वेयरलगायतका कम्पनीको होडिङ बोर्ड हटाएको ढकालले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।
‘महानगरको मापदण्ड अनुसार विज्ञापन राखिएका होडिङ बोर्डको राजस्व बुझाउनुपर्ने हुन्छ, उहाँले भन्नुभयो, केही कम्पनीले विगत तीन वर्षदेखि राजस्व बुझाएका छैनन ।’ प्रनिस कन्सटक्सनका बजार प्रतिनिधि दिपक घिमिरेले कर तिर्न समय दिएपनि अटेर गरेपछि होडिङबोर्ड हटाउन बाध्य भएको बताउनुभयो । उहाँले कर नतिर्ने अन्य कम्पनीलाई पनि क्रमश करको दायरामा ल्याइने जानकारी दिनुभयो ।