Breaking News
एसोसिएट क्रिकेटको ‘एल क्लासिको’ नेपाल-यूएई भिडन्त आज
काठमाडौं,बैशाख ७-
एसोसिएट क्रिकेटको एल क्लासिको मानिएको बहुप्रतिक्षित नेपाल र यूएईबीचको खेल आज हुँदैछ। ओमानमा जारी एसिसी प्रिमियर कपको सेमिफाइनलमा यी दुई चीरप्रतिद्वन्द्वी आज बिहान पौने १२ बजे आमनेसामने हुन लागेका हुन्।
महिला, पुरुष र उमेर समुहका प्रतियोगितामा सँधै एक अर्काको तगारो बन्दै आएका छन्। नेपाल र युएईबीचको खेल सँधै रोचक मात्र हुँदैन प्रतिस्पर्धात्मक हुने गर्छ। समान स्तरका यी दुई टोली जति एक-अर्काका लागि परिचित छन्। यस पटक फेरी एसिया कप छनोटको महत्वपूर्ण खेलमा यी दुई आमनेसामने हुनेछन्। यो प्रतियोगिताको विजेता फाइनलमा प्रवेश गर्ने भएकोले यो खेल जित्नु दुवैका लागि महत्वपूर्ण हुनेछ।
प्रिमियर कप अन्तर्गत समूह चरणका सबै खेल जित्दै नेपाल विजेताका रुपमा सेमिफाइनल पुगेको हो। नेपालले समूह एको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र अन्तिम खेलमा साउदी अरेबियालाई ६ विकेटले हराउँदै अन्तिम ४ मा स्थान बनाउँदा यो समूहबाट हङकङ उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ।
यूएई भने घरेलु टोली ओमानसँग पराजित भएको थियो। ओमानसँग ९ विकेटले पराजित यूएईले बहराइनलाई ३७ रनले हराएको थियो। यस्तै कुवेतलाई सात विकेटले हराएको थियो। कम्बोडियामाथि ९ विकेटको जित निकाल्दै यूएईले नेपालसँगको भेट पक्का गरेको हो। पछिल्लो एक दशकदेखि कट्टर प्रतिद्धन्द्वी यी दुईले एक दिवसीय र टी-ट्वेन्टीमा जित-हारको लुकामारीनै गरिरहेका छन्।
टी–२० अन्तर्राष्ट्रियमा नेपाल र युएईबीच अहिलेसम्म ९ खेल भएका छन्। नेपालले ५ खेल जित्दा युएईले ४ खेल जितेको छ। एक दिवसीयमा नेपालले सबैभन्दा बढि युएईसँगनै खेलेको छ। युएईसँग १५ एक दिवसीय अन्तर्राष्ट्रिय खेल्दा नेपालले ९ खेल जितेको छ भने ६ खेल गुमाएको छ। पछिल्लो पटक टी-२० विश्वकप अन्तर्गत एसिया छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै नेपालले दोस्रो पटक विश्वकपमा स्थान बनाएको थियो।
एक दिवसीय फरम्याटमा घरेलु मैदानमै गत संस्करण भएको एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई नै ७ विकेटले हराउँदै नेपालले पहिलो पटक एसिया कप खेलेको थियो। पुरुष टोली बाहेक महिला र उमेर समूहमा पनि युएई नेपालका लागि बाधक बन्ने गरेको छ। सन् २०१८ र २०२१ मा आईसीसी टी–२० महिला एसिया कप क्षेत्रीय छनोट अन्तर्गत जित्नै पर्ने खेलमा नेपाल युएईसँग पराजित हुँदै ग्लोबल क्वालिफायर खेल्नबाट बञ्चित भयो।
पुरुषतर्फ १९ वर्ष मुनिको विश्वकप २०२० का लागि भएको खेलमा वर्षा बाधक बन्दा डिएल पद्धतिमा नेपाल युएईसँग १ रनले पराजित हुँदै विश्वकप खेल्न पाएन।