मनोरञ्जन
छाडा बोलेको भन्दै आयोजकले दुर्गेशलाई भनेः आइन्दा यस्ता शब्द बोल्नुभयो भने तपाईंलाई महोत्सवमा बोलाउँदैनौं

रूपन्देही, वैशाख ४-
गायक दुर्गेश थापाले नवलपरासीको बर्दघाटमा आयोजित सातौं कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक मेलामा ‘छाडा’ शब्दहरु प्रयोग गरेर र्याप गाएको भन्दै सरोकारवालाले विरोध गरेका छन् ।
मेलाको सोमबार गरिएको समापन समारोहमा बोल्ने अधिकांश वक्ताहरुले संगीतका नाममा भित्रिएको विकृतिप्रति चिन्ता व्यक्त गरे । दुर्गेशको प्रस्तुतिलाई लक्ष्यित गर्दै उनीहरुले यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताएका थिए ।
बर्दघाट व्यापार मेला समापनको अघिल्लो दिन आइतबार साँझ दुर्गेश थापाको प्रस्तुती थियो । उनले गीतहरुसँगै र्याप पनि सुनाएका थिए । र्यापमा प्रयोग भएका शब्दहरुलाई लिएर असन्तुष्टि देखिएको हो । सबै उमेर समूहका दर्शकहरु आएको महोत्सवमा यस्ता शब्दहरु प्रयोग गर्नु वाञ्छनीय नभएको टिप्पणी गरिएको छ ।
समापन समारोहमा बोल्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले मनोरञ्जनको नाममा विकृति भित्रिन नहुने बताए । मेला–महोत्सवले कला–संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न सक्नु पर्नेमा उनले जोड दिए । बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले दुर्गेश थापासँग आपत्ति जनाइएको बताएका छन् ।
‘मेले भेटेरै भने आइन्दा यस्तो शब्द बोल्नुभयो भने तपाईलाई महोत्सवमा बोलाइदैन भनेर मैले आपत्ति जनाएको छु,’ अध्यक्ष न्यौपानेले भने ।
अश्लिलता र अभद्र प्रस्तुतीकै कारण केही कलाकारलाई यो बर्ष नबोलाइएको न्यौपानेले स्पष्ट पारे । स्रोतः नेपाल प्रेस