Breaking News

विश्वको अस्वस्थकर वायुको तेस्रो सूचिमा काठमाडौं, खुमलटारमा सबैभन्दा खराब

Banner

काठमाडौँ, चैत २६-

काठमाडौंको वायु विश्वकै अस्वस्थकरको तेस्रो सूचीमा परेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा रहेको हो । सोमबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७३ छ । यो जनस्वास्थ्यको हिसाबले अस्वस्थकर हो । १५१ देखि २०० एक्यूआईलाई रातो रंगले चित्रित गरी ‘अस्वस्थकर’ मानिन्छ ।

नेपालमा वायुको गुणस्तर मापन गर्ने विभिन्न स्टेसनहरु छन् । तीमध्ये ललितपुरको खुमलटारमा वायुको गुणतस्तर अत्यन्तै अस्वस्थकर देखिएको छ । वन तथा वातावरण मन्त्रालयको वातावरण विभाग अन्तर्गत वायु गुणस्तर निगरानीका अनुसार बिहानपख खुमलटारको वायु गुणस्तर सूचकांक (एक्यूआई) २१० पुगेको थियो । खुमलटार क्षेत्रमा अत्यन्त अस्वस्थकर वायु रहेको जनाउ दिन यसलाई भान्टा रंगले चित्रित गरिएको छ ।

यसैगरी रत्नपार्कको १७२, शंखपार्कको १६६, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १६६, भैंसेपाटीको १६५, भक्तपुरको १६० र धनकुटाको १५२ छ । २०७७ साल चैतमा काठमाडौंको वायु प्रदूषण उच्च भएपछि सरकारले चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । अस्वस्थकर वायु हुँदा घरभित्रै बस्न र बाहिर निस्किनै परे मास्क, चस्मा र पूरै शरीर ढाकिने कपडा लगाउनुपर्ने जनस्वास्थ्यविदहरु सुझाव दिन्छन् ।

त्यस्तै काठमाडौं विश्वकै अस्वस्थकरको वायु भएको तेस्रो सूचिमा पर्दा भारतको नयाँदिल्ली पहिलो स्थान र थाइल्याण्डको चिङ्गमाई दोस्रो स्थानमा छ । नयाँदिल्लीको एक्युआई २४४ छ । यो अत्यन्तै अस्वस्थकर हो । २०१ देखि ३०० सम्म एक्यूआईलाई अत्यन्तै अस्वस्थकर मानिन्छ ।

एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ । वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>