Breaking News
चार वर्ष पुरानो रविको ट्विटमा विश्वप्रकाशले के टिप्पणी गरे ?

काठमाडौं, चैत २२-
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको चार वर्ष पुरानो ट्विटमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिप्पणी गरेका छन् । सन् २०२० को फेब्रुअरी २० मा लामिछानेले प्रमाण लुकाउन सक्ने हैसियत भएका आरोपित मन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्ने र अविलम्ब छानबिन गर्नुपर्ने बताएर ट्विट गरेका थिए ।
उक्त एक्समा शर्माले लामिछानेको रिट्विट गरेर हिजो (बुधबार) राति लेखेका छन्, ‘मित्र रवि लामिछाने, यहाँले त राजीनामा नै माग्नुभएको रहेछ, हामी माग्दै छैनौँ र माग्दैनौँ । आरोपित मन्त्रीले राजीनामा नदिए ‘कार्यकक्षबाटै’ पक्राउ गरिनुपर्ने यहाँको धारणा रहेछ । हामी त्यति क्रान्तिकारी सायद छैनौँ, जिम्मेवार ढंगले हाम्रो माग केवल यत्ति छ– संसदीय छानबिन समिति ।’
चार वर्ष पुरानो ट्विटमा लामिछानेले भनेका थिए, ‘बिरामी प्रधानमन्त्रीलाई भजाएर आफ्नो धन्दा चलाउने अन्य नजिकका पात्रहरूको कर्तुत पनि हेर्दै जाऊँ, ३ वर्ष बाँकी छ। कुरौँ… नोटः प्रमाण लुकाउन सक्ने हैसियत भएका आरोपित मन्त्रीले तुरुन्त राजीनामा दिनु पर्छ र अविलम्ब छानबिन सुरु हुनु पर्छ। राजीनामा नदिए ‘कार्यकक्ष’ बाटै पक्राउ गरिनुपर्छ ।’



























