Breaking News
रञ्जिताले पार्टीबाट निष्कासित गरिन् गण्डकी र बागमतीका अध्यक्ष

काठमाडौं, चैत २०-
नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकी र बागमती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन्।
संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेका बेला नेताहरूलाई हातपात गरेको भन्दै अध्यक्ष श्रेष्ठले बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी प्रदेश अध्यक्ष राजन गुरूङलाई जिम्मेवारीबाट पदमुक्त गरेको बताएकी छन्।
‘नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंमा चैत १९ गतेका दिन पार्टीका संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा तपाईंसमेतले पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू रामलाल डगौरा थारू र रमेश विश्वकर्मालाई अभद्र व्यवहार गरी कुटपिटसमेत गरेको हुदाँ पार्टीको विधान २०७८ को धारा १७ को उपधारा (क) को (२)(४) बमोजिम र सोही विधानको धारा १७ (४) बमोजिम तपाईंलाई आजकै मितिदेखि लागू हुने गरी पार्टीबाट पदमुक्त गरी निष्काशन गरिएको जानकारी गराउँदछु,’ पत्रमा भनिएको छ।
दुवै अध्यक्षलाई एकै व्यहोरोको पत्रमार्फत् निष्कासन गरिएको जानकारी गराइएको छ।


























