Breaking News

बाघ थुनेर भ्रमण बर्ष मनाउन लागेको भन्दै सरक्षणकर्मी विरोधमा

Banner

चितवन, चैत्र १६-
भरतपुर महानगरपालिका–६ देवनगरस्थित वन्यजन्तु उद्धार केन्द्रलाई पर्यटकीय स्थल बनाएको भन्दै संरक्षणकर्मीले विरोध जनाएका छन् । भरतपुर भ्रमण बर्ष २०२४लाई लक्षित गर्दै चितवन राष्ट्रिय निकुञ्जले खोरमा राखिएका बाघलाई पर्यटकले अवलोकन गर्ने व्यवस्था गरेपछि संरक्षणकर्मीले विरोध जनाएका हुन् ।

सामाजिक सञ्जाल मार्फत उनीहरुले बाघलाई थुनेर पर्यटकले आनन्द लिन नसक्ने बताएका छन् । पशु संरक्षणकर्मी सुराजन श्रेष्ठले वन्यजन्तुलाई प्रदर्शनीमा राख्न उचित नहुने बताएका छन् । उनले आफ्नो फेसबुक पेजमा निकुञ्ज प्रति लक्षित गर्दै लेखेका छन् । ‘चितवनमा बाघलाई क्रुरतापुर्वक खोरमा थुनेर पर्यटक तान्ने काममा दुरुपयोग गर्ने परियोजनामा डब्लु डब्लु एफको ठूलो भूमिका छ । बाघको जनसंख्या बढाउने परियोजना ल्याउने तर प्राकृतिक व्यवस्थापनमा लापरवाही गर्ने र अहिले आएर बाघलाई खोरमा थुनेर व्यवस्थापन गरेको जस्तो गर्नेहरुलाई पाठ सिकाउन जरुरी छ । हामी चितवनमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय अगाडी विरोध प्रदर्शन गर्ने तयारी थाल्दै छौँ।’

निकुञ्जले बुधबारदेखि भरतपुरको देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा दुई पाटेबाघ सर्वसाधारणका लागि हेर्नका लागि व्यवस्था गरेको जनाएको छ । सो उद्वार केन्द्रको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गरेकी थिइन् । सो अवसरमा दाहालले गैँडालगायत वन्यजन्तुसमेत ल्याएर खुल्ला चिडियाखानाका रुपमा विकास गरिने बताएकी थिइन् । यस बिषयले झन् संरक्षणकर्मी आक्रोशित भएका छन् । ‘याद राख्नुहोला, यिनीहरुलाई यत्तिकै छोडिदिए विस्तारै गैँडा पनि कैद गरेर पर्यटकलाई देखाउने तयारी थालिसके । यो दुरुपयोग हुनुभन्दा अगाडी हामीले रोक्न पर्छ ।,’ सुराजनले लेखेका छन् । उनले वन्यजन्तुलाई प्रर्दशनीमा राख्न उचित नहुने बताए । काठमाडौँमा हुने वन्यजन्तु संरक्षणकर्मी, पशु कल्याणकर्मी तथा पशु अधिकारकर्मीहरुले विश्व वन्यजन्तु कोष कार्यालय र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग कार्यालय अगाडि गई विरोध प्रदर्शन थाल्न समेत आग्रह गरेका छन् ।

वन्यजन्तु विज्ञ डा.बाबुराम लामिछाने उद्दार गरि ल्याइएका बाघ लगायतका जनावरलाई पर्यटन प्रवद्धन गरेर राख्न नुहने तर्क राख्छन् । उनले पर्यटन प्रवद्र्धन गर्न निकुञ्जकै जनावर समातेर भने ल्याउन नहुने बताए । यसले पर्यपर्यटनमा समेत असर पुग्ने उनको भनाई छ । लेखक तथा कवि भुपिन खड्काले वन्यजन्तु र संरक्षण कर्मीका लागि बाघलाई थुन्नु उपयुक्त नहुने उनको भनाई छ । ‘पर्यापर्यटनले बाघलाई यसरी थुनेर पैसा कमा भन्दैन । वाइल्ड लाइफलाई प्रेम गर्ने कुनै पर्यटकले थुनिएको बाघ हेरेर आनन्द लिन सक्दैन।’–सकस महशुस गर्छ उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

निकुञ्जले बाँकेबाट विसं २०७८ फागुन १८ गते ल्याएको भाले बाघ र विसं २०७७ असोज १२ गते भरतपुर–१३ को वेलशहर सामुदायिक वनबाट नियन्त्रणमा लिएको भाले बाघ यहाँ ल्याइएको छ । बाँकेबाट ल्याउँदा सो बाघ छ वर्षको र बेलसहरको ११ वर्षको रहेका थिए । तीन बाघलाई पर्यटन प्रर्वद्धनमा राखिएको हो । अझै निकुञ्जभित्र दुई पोथी बाघ र सौराहामा दुई भाले बाघ खोरमा रहेका छन् । नेपालमा सबैभन्दा बढी बाघ भएको निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज हो । पछिल्लो गणनाअनुसार यहाँ एक सय २८ वयस्क बाघ रहेका छन् । देशभरको तथ्याङ्क तीन सय ५८ रहेको छ । चितवन पछि धेरै बाघ बर्दियामा रहेका छन् । त्यहाँ एक सय २५ वयस्क बाघ देखिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>