Breaking News

कोशी टप्पु हिड्यो ‘मेघौली’

Banner

चितवन, चैत्र ०९-
चितवन राष्ट्रिय निकुञ्जले ‘मेघौली’ नाम गरेको भाले गैँडालाई कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रमा पठाइएको छ । सौराहा क्षेत्रबाट नियन्त्रणमा लिएर अन्दाजि १० बर्षको मेघौलीलाई शुक्रबार कोशीटप्पु पठाइएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार, आज दिँउसो पौने ४ बजे गैँडा खोरमा राखेर कोशी पठाइएको हो । गैँडालाई लिएर निकुञ्जका संरक्षण अधिकृत शान्त बहादुर मगरको नेतृत्वमा भेटेरिनरी चिकित्सकसहितको टोली कोशी गएको छ । टोलीमा राष्ट्रिय प्रकृति संरक्षणक कोषका संरक्षण अधिकृत, नेपाली सेना, भेटेरिनरी चिकित्सक, पशु प्राविधिकहरुको सहभागिता रहेको छ ।
कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा लगिएको हो । यसअघि विभागका तत्कालीन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले त्यस विषयमा विस्तृत अध्ययन गरेपछि प्रतिवेदन बुझाएको थियो । सोही निर्णय अनुसार गत असोज महिनामा चितवनबाट पुष्पा र अञ्जलीलाई कोशीटप्पु पठाईसकिएको छ । उनीहरुको जोडि बन्नका लागि मेघौलीलाई पठाइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन मगर बताउँछन् ।
‘असोज ९ गते पुष्पा र अञ्जली नाम राखिएका पोथी गैँडालाई कोशीमा स्थानान्तरण गरिएको थियो । उनीहरुको प्रजन्न्का लागि भाले गैँडा स्थानान्तरण गरिएको हो’–पुन मगरले भने । यस भाले गैँडालाई राख्ने व्यवस्था कोशी टप्पु आरक्षण केन्द्रका प्राविधिकहरुले गरिसकेको उनले जानकारी दिए ।

पुष्पा र अञ्जली जस्तै बाढीको संकटमा परेको मेघौलीलाई चितवन राष्ट्रिय निकुञ्जले उद्वार गरेर राष्ट्रिय प्रकृतिक संरक्षण कोष सौराहामा राखेर हुर्काइएको गैँडा हो । २०७४ सालमा पश्चिम चितवनको मेघौलीबाट उद्वार गरिएको थियो । त्यही भएर यसको नाम प्राविधिकले मेघौली राखिदिएका हुन् । त्यतिखेर यो गैँडा चार बर्षको थियो । घाइते अवस्थामा रहेको मेघौलीलाई दुध खुवाएर हुर्काएका थिए । पछि ठिक हुँदै गएपछि जंगलमा छाडिएको थियो । तर, मानिससंग घुलमिल भएकाले प्राय मानव वस्तिमै देखिन्थ्यो ।
यसअघि पठाइएका पुष्पा र अञ्जलीलाई पनि अलपत्र अवस्थामा उद्वार गरिएको थियो । आमाबाट छुट्टिएर अनाथ भएको अवस्थामा पुष्पालाई अन्दाजी दुई र अञ्जलीलाई एक महिनाको उमेरमा उद्धार गरिएको थियो । दुवैलाई गत वैशाख ३१ मा प्राकृतिक वासस्थानमा छाडिएको थियो । सो समयमा पुष्पाको उमेर तीन वर्ष चार महिना र पूजाको उमेर दुई वर्ष एक महिना पुगेका थिए । हाल पुष्पाको उमेर चार वर्ष तीन महिना र पूजाको उमेर तीन वर्ष पुगेको छ ।
पोथी गैँडा चार वर्षपछि प्रजननका लागि योग्य हुन्छन् । गैँडाले पाँचदेखि छ वर्षमा बच्चा जन्माउने गरेको छ । भाले लागेको एक वर्ष चार महिनादेखि एक वर्ष छ महिनाभित्र बच्चा जन्माउने गर्दछ । चार वर्ष पुगेकी पुष्पाले चितवन निकुञ्जमा हुँदै थाले खोजेको संरक्षणकर्मीहरुले बताउने गर्दथे । यीनिहरुको स्थानान्तरणको समयमा वन मन्त्रालयले भाले पनि स्थानान्तरण गर्ने बताएको थियो । ‘पोथीका लागि भाले चाहिने बाइलोजिकल निड्स हो,’ प्रमुख संरक्षण अधिकृत पुनले भने, ‘पहिलो चरणमा पोथी स्थानान्तरण गरिएपछि दोस्रो चरणमा भाले पठाएका हौँ ।’

चितवन राष्ट्रिय निकुञ्जबाट सन् १९८६ सालदेखि यता मेघौली सहित १०३ वटा गैँडा स्वदेशमा मात्र स्थानान्तरण गरिएको छ । यहाँबाट स्थानान्तरण भएका गैंडामध्ये ४५ वटा भाले र ५७ वटा पोथी रहेका छन् । त्यसमध्ये सबैभन्दा धेरै बर्दिया राष्ट्रिय निकुञ्जमा ९१ वटा गैँडा लगिएको छ । त्यसमा जिवित ३८ वटामात्र छन् ।
चितवन राष्ट्रिय निकुञ्जका गैँडा स्वदेशमा मात्र होइन, मित्रराष्ट्रहरूलाई उपहारस्वरूप दिने गरिएको छ । औपचारिक रूपमा सन् १९८५ सालबाट उपहारस्वरूप मित्रराष्ट्रलाई गैंडा दिइएको देखिन्छ । निकुञ्ज विभागको रिपोर्टअनुसार पहिलोपटक भारतलाई चारवटा गैँडा दिइएको तथ्यांक छ । ती गैँडा भारतको दुदुवा राष्ट्रिय निकुञ्जमा राखिएको उल्लेख छ ।

हालसम्म नौवटा देशमा यहाँका २६ वटा गैँडा पुगेका छन् । सबैभन्दा बढी अमेरिकाले ६ वटा गैँडा लगेको छ । उसले सन् १९८७ मा दुईपटक गरी चारवटा र सन् १९९० मा दुईवटा गैँडा लगेको छ । त्यसैगरी जर्मनी, सिंगापुर, बंगलादेश, बेलायत, अस्ट्रिया र चीनमा दुईदुईवटा गैँडा उपहारस्वरूप प्रदान गरिएको छ । पछिल्लोपटक सन् २०१८ मा चीनमा दुईवटा गैंडा लगिएको छ ।

पछिल्लो गैँडा गणना अनुसार नेपालमा सात सय ५२ वटा गैँडा छन् । त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै ६ सय ९४ वटा गैंडा छन् । त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गरी सात सय ५२ वटा गैंडा नेपालमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>