Breaking News

पुष्पा र अञ्जलीको जोडी बन्न कोशीटप्पु जादैछ चितवनको भाले गैँडा

Banner

चितवन, चैत्र ०६-
चितवन राष्ट्रिय निकुञ्जबाट दोस्रो पटक कोशीटप्पु वन्यजन्तु आरक्षमा गैँडा स्थानान्तरण गर्न लागिएको छ। वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार निकुञ्ज प्रशासनले एउटा भाले गैँडा कोशीटप्पु स्थानान्तरण गर्न लागेको हो।

‘गत असोज ९ गते पुष्पा र अञ्जली नाम राखिएका पोथी गैँडालाई कोसीमा स्थानान्तरण गरिएको थियो। पोथी गैँडालाई जोडी मिलाउन भाले गैँडा स्थानान्तरण गर्न लागिएको हो। भाले गैँडा लगिएपछि प्रजनन प्रक्रिया सुरु हुन्छ’, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुन मगरले भने ‘जतिसक्दो छिटो वयस्क भाले गैँडा स्थानान्तरण गर्ने तयारी छ।’

आन्तरिक स्थानान्तरण गर्न लागिएको अवसर पारेर कोशीटप्पुमा पनि एउटा गैँडा लैजान लागिएको पुनले जानकारी दिए ।

आमाबाट छुट्टिएर अनाथ भएको अवस्थामा पुष्पालाई अन्दाजी दुई र अञ्जलीलाई एक महिनाको उमेरमा उद्धार गरिएको थियो । दुवैलाई गत वैशाख ३१ मा प्राकृतिक वासस्थानमा छाडिएको थियो । सो समयमा पुष्पाको उमेर तीन वर्ष चार महिना र पूजाको उमेर दुई वर्ष एक महिना पुगेको थियो । हाल पुष्पाको उमेर चार वर्ष तीन महिना र पूजाको उमेर तीन वर्ष पुगेको छ ।

पोथी गैँडा चार वर्षपछि प्रजननका लागि योग्य हुन्छन् । गैँडाले पाँचदेखि छ वर्षमा बच्चा जन्माउने गरेको छ । भाले लागेको एक वर्ष चार महिनादेखि एक वर्ष छ महिनाभित्र बच्चा जन्माउने गर्दछ । चार वर्ष पुगेकी पुष्पाले चितवन निकुञ्जमा हुँदै भाले खोजेको संरक्षणकर्मीहरूले बताएका थिए ।

यिनीहरूको स्थानान्तरणको समयमा वन मन्त्रालयले भाले पनि स्थानान्तरण गर्ने बताएको थियो । ‘पोथीका लागि भाले चाहिने बाइलोजिकल निड्स हो,’ उनले भने, ‘पहिलो चरणमा पोथी स्थानान्तरण गरिएपछि दोस्रो चरणमा भाले लैजान खोजेका हौँ।’

अहिले चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक गैँडा स्थानान्तरणको काम चलिरहेको छ। पश्चिम सेक्टरका गैँडा पूर्व तर्फ सारिँदै छ। हालसम्म तीन वटा गैँडा स्थानान्तरण गरिएको छ। निकुञ्जको १० वटा स्थानान्तरण गर्ने लक्ष्य छ। यस्तै चितवन राष्ट्रिय निकुञ्जबाट सन् १९८६ सालदेखि यता १०२ वटा गैँडा स्वदेशमा मात्र स्थानान्तरण गरिएको छ। यहाँबाट स्थानान्तरण भएका गैँडामध्ये ४५ वटा भाले र ५७ वटा पोथी छन्। त्यसमध्ये सबैभन्दा धेरै बर्दिया राष्ट्रिय निकुञ्जमा ९१ वटा गैँडा लगिएको छ। त्यसमा जीवित ३८ वटा मात्र छन्।

चितवन राष्ट्रिय निकुञ्जका गैँडा स्वदेशमा मात्र होइन, मित्रराष्ट्रहरूलाई उपहारस्वरूप दिने गरिएको छ। औपचारिक रूपमा सन् १९८५ सालबाट उपहारस्वरूप मित्रराष्ट्रलाई गैँडा दिइएको देखिन्छ। निकुञ्ज विभागको रिपोर्टअनुसार पहिलो पटक भारतलाई चार वटा गैँडा दिइएको तथ्याङ्क छ। ती गैँडा भारतको दुधवा राष्ट्रिय निकुञ्जमा राखिएको उल्लेख छ।

हालसम्म नौवटा देशमा यहाँका २६ वटा गैँडा पुगेका छन्। सबैभन्दा बढी अमेरिकाले ६ वटा गैँडा लगेको छ। उसले सन् १९८७ मा दुई पटक गरी चार वटा र सन् १९९० मा दुई वटा गैँडा लगेको छ। त्यसैगरी जर्मनी, सिंगापुर, बंगलादेश, बेलायत, अस्ट्रिया र चीनमा दुई/दुई वटा गैँडा उपहारस्वरूप प्रदान गरिएको छ । पछिल्लो पटक सन् २०१८ मा चीनमा दुई वटा गैँडा लगिएको छ।

पछिल्लो गैँडा गणना अनुसार नेपालमा सात सय ५२ वटा गैँडा छन्। त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै ६ सय ९४ वटा गैँडा छन् । त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गरी सात सय ५२ वटा गैँडा नेपालमा छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>