Uncategorized
कांग्रेस अब बलियो प्रतिपक्षः महामन्त्री थापा

लेखनाथ, चैत ३-
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांगेस अब संसद्मा बलियो प्रतिपक्षको भूमिकामा रहने बताउनुभएको छ ।
नेपाली कांग्रेस कास्कीका कार्यकर्तालाई आज पोखरामा सम्बोधन गर्दै नेता थापाले नेकपा (माओवादी) केन्द्र गठबन्धनबाट बाहिरिए पनि कांग्रेसले दुःख मनाउ नगरेको बताउँदै आगामी २०८४ को निर्वाचन गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा आउने दाबी गर्नुभयो ।“जनताप्रति सरकारलाई जवाफदेही बनाउन कांग्रेसले आफ्नो भूमिका संसद्मा खेल्छ”, नेता थापाले भन्नुभयो ।
सरकारबाट बाहिरिएसँगै कांग्रेसलाई केन्द्रदेखि गाउँ तहसम्म सङ्गठन विस्तार गर्ने मौका मिलेको बताउँदै उहाँले आगामी निर्वाचनमा अन्य सबै पार्टी एक भए पनि कांग्रेस एक्लै प्रतिस्पर्धा गर्नसक्ने पार्टीका रूपमा विकास गर्न सक्ने उहाँको भनाइ थियो ।
“गठबन्धनको राजनीतिले पार्टी कार्यकर्तामा निराश पैदा भएको महसुस भइरहेकै बेला नेकपा (माओवादी) केन्द्रले विभिन्न बहानामा गठबन्धन तोड्दा कांग्रेसलाई सङ्गठन विस्तार गर्ने मौका मिलेको छ, अब कांग्रेसभित्रको गुटउपगुट समाप्त पारेर कांग्रेस अगाडि बढ्छ”, महामन्त्री थापाले भन्नुभयो । नेपाली कांग्रेस अब विसं २०८२ मा हुने महाधिवेशनको तयारीमा जुट्ने पनि उहाँको भनाइ थियो ।
सुन तस्करी प्रकरणमा दोषी देखिएका जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताउँदै नेता थापाले अनुसन्धानलाई फितलो बनाएर दोषीलाई उम्कने बाटो दिन नहुने उल्लेख गर्नुभयो ।
सुशासनको पक्षमा काम गर्न जनप्रतिनिधिलाई सुझाव
नेपाली कांग्रेसका तर्फबाट निर्वाचित गण्डकी प्रदेश स्थानीय तहका जनप्रतिनिधिलाई जनताको हित र सुशासनको पक्षमा काम गर्न सुझाव दिइएको छ । कांग्रेस गण्डकी प्रदेशले आज पोखरामा अन्तरक्रियामा प्रशिक्षण दिँदै गण्डकी प्रदेश योजना आयोग पूर्वउपाध्यक्ष डा रघुराज काफ्लेले नेपालको संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएसँगै जिम्मेवाररूपमा पक्षमा काम गर्न सुझाव दिनुभएको हो ।
























