मनोरञ्जन

चलचित्र ‘काँडेतार’का निर्माता खड्कालाई आक्रमणको धम्की, कलाकार संघको आपत्ति

Banner

चितवन, चैत १-

राष्ट्रियताको विषयमा आधारित चलचित्र ‘काँडेतार’ का कलाकार, निर्देशक एवम् निर्माता नवल खड्कालाई धम्की आएको भन्दै नेपाल चलचित्र कलाकार संघले आपत्ति जनाएको छ ।

संघका अध्यक्ष मोहन निरौलाले आज एक विज्ञप्ति जारी गर्दै नेपाल चलचित्र निर्माता संघका अध्यक्ष तथा नेपाल चलचित्र कलाकार संघका पूर्वअध्यक्षसमेत रहेका खड्कामाथि यस्तो धम्की आएको भन्दै संघको ध्यानाकर्षण भएको जनाइएको हो ।

विज्ञप्तिमा काँडेतारका विषयमा धम्कीपूर्ण अभिव्यक्ति आउनु खेदजनक भएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘चलचित्र निर्माण जस्तो कला, संस्कृति, साहित्यलाई उजागर गरी समाज रुपान्तरण, सामाजिक सन्देश प्रवाहित गर्ने क्षेत्रमा यस किसिमले निरुत्साहित पार्ने एवम् राष्ट्र, राष्ट्रियताका विषयमा केन्द्रित रहेर निर्माण गरिएको काँडेतार र यसका निर्माता÷निर्देशक नवल खड्कालाई कुनै पनि क्षेत्रबाट यस किसिमको भौतिक रुपमा अक्रमण हुनसक्ने भनी आएको तुच्छ अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ । यसरी चलचित्रले बोक्ने कला, साहित्य, संस्कृतिका क्षेत्रमा निरुत्साहित पार्ने कुनै पनि दुःखद् अभिव्यक्तिप्रति सम्बन्धित निकायलाई पनि ध्यानाकर्षण गराउन चाहन्छौं ।’

विज्ञप्तिमा चलचित्र आफैँमा सामाजिक रुपान्तरण गर्ने माध्यम भएकोले काँडेतारले आम नागरिकलाई राष्ट्रियता प्रति सजग गराउने एवम् झकझक्याउने काम गरेको जनाइएको छ । यसले कसैलाई भड्काउने, सामाजिक सद्भाव बिगार्ने, जातीय द्वेश फैलाउने, आन्तरिक अन्तरदेशीय सम्बन्धलाई भड्काउने जस्ता काम कदापी नगरेको विज्ञप्तिमा जनाइएको छ । अमुक व्यक्तिबाट खुल्ला चुनौती दिँदै सामाजिक सञ्जालबाट धम्कीपूर्ण अभिव्यक्ति दिनु निन्दनीय रहेको संघले ठहर गरेको विज्ञप्तिमा उल्लेख छ । यस किसिमको गतिविधि, प्रवृत्ति कोही कसैबाट नहोस् र सामाजिक सन्देशयुक्त चलचित्र निर्माणमा अवरोध कुनै पनि हालतमा नहोस् भन्दै आगामी दिनमा पनि चलचित्र निर्वाधरुपमा चल्ने वातावरण होस् भन्दै निन्दनीय कार्यको संघले भत्र्सना गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>