Breaking News
मैले कुनै अवसर पाउनेबित्तिकै प्रचण्डको भाइ भन्ने आरोप लाग्छः नारायण दाहाल

काठमाडौं,फागुन २८-
राष्ट्रिय सभा अध्यक्षमा उम्मेवारी दिएका माओवादी केन्द्रका सांसद नारायण दाहालले पार्टीमा आफूले कुनै जिम्मेवारी पाउनेबित्तिकै प्रचण्डको भाइ भनेर आचोचना हुने गरेको भन्दै गुनासो गरेका छन्। सोमबार बिहान सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गरेपछि दाहालले यस्ता आरोप सुन्दा र त्यसको खण्डन गर्दा आफ्नो कान पाकेको र मुख थाकेको बताए।
‘म ०३६ सालदेखि नै यो पार्टीको राजनीतिमा छु। दाजुभाइको नाताको चर्चा गर्नेले जनयुद्धमा दाइ हिँडेका छन्, तँ हिँड्न पाउँदैनस् भन्ने कुरा किन नगरेका ?’ उनले प्रश्न गरे। आफूले प्रचण्डको भाइ भएर अवसर नपाएको दाबी उनको थियो।
‘यो परिवारवाद होइन। यस्ता प्रश्नको उत्तर दिँदादिँदा मेरो कान पाक्यो, मुख थाक्यो। मैले पार्टीमा कुनै जिम्मेवारी पाउँदा यस्तो आरोप लाग्ने गरेको छ। प्रदेश सहइन्चार्ज बन्दा पनि यस्तै भनेका हुन्। ०३६ सालदेखि म यो पार्टीमा छु। म पार्टीमा खटिएको कुरा थाहा नपाउनेहरूले नै मलाई प्रश्न गरिरहेका छन्।’


























